दार्चुला। दार्चुलामा ५ वर्षीया बालिकाको डेँगु संक्रमणबाट मृत्यु भएको छ । डेंगु संक्रमणबाट मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिएका छन्। स्वास्थ्य संयोजक गुणराज ओझाका अनुसार बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको र भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखीएको थियो ।
जिल्ला अस्पतालमा चेकजाँच गर्दा ती बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिनुका साथ अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमाने अस्पतालले जनाएको छ । आफन्तहरुले अन्य ठूलो अस्पताल लिने भनेर विरामी बालिकालाई अस्पताल नपुर्याएर पुनः घरमै लगेको खुल्न आएको छ । बालिकालाई घरमा ज्वरोले झन् च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा उनको ज्यान गएको बताइएको छ।
डेंगु संक्रमण भएमा शरीरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्त संचार प्रणालीमा प्रत्यक्ष असर परेर विरामीको मृत्यु हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मीले बिशेष स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्ने गर्दछ ।