धनगढी। धनगढीको निसर्ग हस्पिटलमा पिसाब नलीमा पत्थरी भएकी चार वर्षकी नाबालिकाको सफल सल्यक्रिया भएको छ। उसो त यति सानो उमेरमा पत्थरी हुनु नपर्ने हो। तर बझाङ सैपाल गाउँपालिकाकी ४ वर्षीया एन्जेल लामालाई
पत्थरी देखियो। त्यो पनि मृगौलामा। गाउँमा उपचार सम्भव नभएपछि उनलाई धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर ल्याइएको हो।
उनको चेकजाँच गर्दा देब्रेतिरको पिसाब नलीमा ९ एमएमको पत्थरी अडकेर बसको अवस्थामा देखिएकोमृगौला तथा मुत्र रोग विशेषज्ञ डा. प्रज्ञान ख्वाँजूले बताए। यति सानो उमेरमा पत्थरी हुने सम्भावना निकै कम हुन्छ, उनले भने, कहीँ, कसैमा बंशाणुगत कारणले पत्थरी बन्ने सम्भावना हुन्छ। यति सानो उमेरमा मृगौला तथा पिसाब नलीमा भएको पत्थरीको अप्रेसन यस क्षेत्रमा त्यति सहज नभए पनि निसर्ग हस्पिटलको चिकित्सकहरुको टिमले त्यसलाई सफलतापूर्वक सल्यक्रिया गरेको अस्पतालले जनाएको छ। देब्रेतिरको पिसाब नलीमा पत्थरी अड्केर बसेको थियो।
पत्थरीकै कारण पिसाबनली थुनिएर देब्रे किड्नी सुनिएको थियो, डा ख्वाँजूले भने। समयमा उपचार नपाउँदा मृगौला नै खराब हुने सम्भावना हुन्छ। साना बालबालिकाका लागि सानै दुरबिनको आवश्यकता पर्छ। आफूहरुले पातलो दुरबिन प्रयोग गरेर पिसाबको नलीमा दुरबिन छिराएर पत्थरी फुटाएर निकालेको उपचारमा संलग्न नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. दिपक पौडेलले बताए। यो पद्धतिलाई यूआरएसएल भनिने मृगौला तथा मुत्ररोग शल्य चिकित्सक डाक्टर ख्वाँजू बताउँछन् । साधारणतया ठूलो मान्छेको मृगौला तथा पिसाब नलीको पत्थरीको दुरबिन पद्धतिबाट गरिने अप्रेसन निसर्ग हस्पिटलले गर्दै आएको छ। तर नाबालकको उपचारमा सानै दुरबिन आवश्यक पर्छ। जुन यस क्षेत्रमै सम्भव छैन। काठमाडौं तथा अन्यत्र पठाउनुपर्ने अवस्थाको बिरामीको उपचार आफूहरुले सफल रुपमा गरेको सल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन्। चार वर्षकी एन्जेलको उपचार नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर दिपक पौडेल, मृगौला तथा मुत्ररोग विशेषज्ञ डाक्टर प्रज्ञान ख्वाँजू, एनेस्थेसियोलोजिस्ट डाक्टरद्वय हेमन्त ओझा र सुनिल भट्ट लगाएतको सहभागी टिमले यो शल्यक्रिया गर्न सफल भएको हो ।