दार्चुला। दार्चुलामा पछिल्लो समय स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पताल दार्चुलामा मात्रै एक वर्षको अवधिमा ३०५ जनामा स्क्रबटाइफसको सङ्क्रमण फेला परेका छन् । जिल्ला अस्पताल दार्चुलामा कार्यरत मेडिकल अधिकृत राजेश भट्टका अनुसार पछिल्लो केही महिनायता अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा स्क्रबटाइफस पोजेटिभ देखिने गरेको छ । दार्चुलामा स्क्रबटाइफसको जोखिम बढ्दै गएको भट्टको भनाइ छ ।
अस्पतालले ज्वरोका बिरामीमा स्क्रब टाइफसको परीक्षण गर्ने गरेको छ । मेडिकल अधिकृत भट्टका अनुसार विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष स्क्रबटाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । गत साउनदेखि हालसम्म दार्चुलामा ३०५ जनामा सङ्क्रमण भेटिएको तथ्याङ्क भए पनि अझै कतिपय बिरामी परीक्षणको पहुँच बाहिर हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । यो वर्ष जिल्ला अस्पतालमा मात्रै एक हजार पाँच जनामा परीक्षण गर्दा ३०५ जनामा स्क्रबटाइफस देखिएको मेडिकल अधिकृत भट्टले बताए। गम्भीर समस्या देखिएका एक जना बिरामीलाई रेफर गरिएको छ ।
वर्षात्को समयमा किर्नालगायतका कीराले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामी पनि बढी देखिने गरेको दार्चुला अस्पतालका डा। आदर्श लिम्बूले बताए। बिरामी हुने बढीजसो महिलामा पशु चौपायासँग घुलमिल हुँदा किर्नाले टोक्ने, त्यसपछि स्क्रबटाइफस देखिने गरेको छ । स्क्रबटाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार भइरहेको उनको भनाइ छ ।
दार्चुला अस्पतालमा डेङ्गुका बिरामी पनि बढदै गएको पाइएको छ । एक वर्षको अवधिमा अस्पतालमा पुगेका ८८२ जनाको परीक्षण गर्दा छ जनामा डेङ्गु देखिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालले हालसम्म ८०५ जनाको कालाजार परीक्षण गर्दा दुई जनामा कालाजार देखिएको छ ।
झाडापखाला, टाइफाइडअन्तर्गत दुई सय जनामा विभिन्न रोगको परीक्षण गर्दा ९४ जनामा झाडापखाला, टाइफाइड देखिएको छ । वर्षात्को समयमा पानीका मुहान सफा नहुँदा पानीजन्य रोगको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन तथा पानी शुद्धीकरण गरेर मात्रै पिउन चिकित्सकले अनुरोध गरेका छन् ।

