धनगढी। औषधि व्यवस्था विभाग नेपालगञ्जले धनगढीमा रहेको एक औषधि पसलमा शिलबन्दी गरेको छ । बिना दर्ता सञ्चालनमा रहेको औषधि पसललाई विभागले शिलबन्दी गरेको हो। विभागले धनगढीमा रहेको शिखर मेडिकल शिलबन्दी गरिएको विभागका फार्मेसी निरिक्षक दिपेन्द्र कुमार साहले जानकारी दिए ।
विभागले असार ९ देखि १५ गतेसम्म बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका ३५ वटा औषधि पसलहरुको अनुमगन गरेको थियो ।जसमा बर्दियामा रहेको बर्दिया पब्लिक अस्पतालको फार्मेसी पसललाई पनि शिलबन्दी गरिएको छ। शिलबन्दी गरिएका औषधि पसलले लागू तथा मनोद्दिपक औषधिहरु तालिम प्राप्त व्यवसायी र फर्मासिस्ट बिना बिक्रि वितरण गरेको पाइएको थियो । दर्जनभन्दा बढी औषधि पसलहरुलाई कारबाहीका लागि पत्र काटिएको निरिक्षक साहले बताए ।
अनुगमनको क्रममा औषधि पसलहरुमा व्यवसायी र फर्मासिस्ट नभएको,दर्ता नभएको औषधि सञ्चय गरेर राखेको, लागू तथा मनोद्दिपक औषधिहरुको सुरक्षित भण्डारण र रकेर्ड नराखेको, नियमित बिक्रि वितरणको बिल दिने नगरेको समेत पाइएको थियो ।अनुगमन हुँदै गरेको थाहा भएपछि केही औषधि पसलले बन्द गरेर समेत भागेको साहले बताए। तर बिना दर्ता पसल सञ्चालन गर्ने र औषधिको गतल व्यवसाय गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनले बताए।