कैलाली। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुदूरपश्चिममा पनि बिस्तारै चुनावी माहोल तात्न थालेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ।
राजनीतिक दलले उम्मेदवार घोषणा गरि नसके पनि निर्वाचनको तयारीका क्रममा मूलधारका दल जुटिसकेका छन् । प्रदेश राजधानी रहेको धनगढी उप महानगरपालिकासहित सबै स्थानीय तहमा चुनावलाई लक्षित गरेर सबै दलले टोल कमिटीसमेत गठन गरिसकेका छन् ।
टिकटका आकांक्षीको दौडधुप भने सुरु भइसकेको छ। प्रदेशका अन्य मुख्य नगरमा विभिन्न दलका उम्मेदवारका आकांक्षी गत निर्वाचनभन्दा निकै बढी देखिएका छन् । कैलाली कांग्रेसका पूर्व सचिव दीपक जोशी भन्छन्, ‘जनप्रतिनिधिले ठूलो बजेट चलाउन पाउने भएपछि यसपटक आकांक्षीको व्यवस्थापन गर्न सबै राजनीतिक दललाई मुस्किल हुने देखिएको छ ।
स्थानीय तहमा देखिएको आकर्षणका कारण यस पटक निर्वाचन थप जटिल बन्ने देखिएको छ ।’सुदूरपश्चिमको राजनीतिलाई प्रभावपार्ने कञ्चनपुरको भीमदत्तनगर, डडेलधुराको अमरगढी नगरपालिका, कैलालीको टीकापुर जस्ता नगरपालिकामा त सम्भावित उम्मेदवारले टोल टोलमा पुगेर आफ्नो आफ्नो दाबी पेस गर्दै निर्वाचनको माहोल बनाउन सुरु गरिसकेका छन् ।


