धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। कैलालीको भजनी नगरपालिका–३ पडरियामा बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीय २८ वर्षीय हरिप्रसाद डगौराको घरमा खानतलासी गरेको थियो। सो क्रममा उनको घरको कोठाबाट ७७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
यस्तै, धनगढी उपमहानगरपालिका–७ मनेहरामा बिहीबार साँझ अस्थायी प्रहरी पोस्ट मनेहराबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा धनगढी–१२ मनेहरा पुरानो शिविरका १८ वर्षीय किशोरको साथबाट ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो। प्रहरीले उक्त पदार्थसहित किशोरलाई नियन्त्रणमा लिएको छ।
यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा बिहीबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका १९ वर्षीय कुशल बिष्टलाई चेकजाँच गर्ने क्रममा ४५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त पदार्थ सहित ४ जनालाई पक्राउ गरेको जनाए पनि नाम सार्वजनिक गरेको छैन ।


