धनगढी: मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि नयाँ समीकरणको सम्भावना बढेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेशको राजनीतिक शक्ति सन्तुलन फेरि बदलिएको छ । सरकारमा सहभागी एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री यादव सरकारको निरन्तरताका लागि थप राजनीतिक दबाबमा परेका छन् ।
सरकार गठन भएको एक वर्ष नपुग्दै दोस्रोपटक संकटमा परेको यादव नेतृत्वको सरकारको भविष्य अब मुख्यतः जनता समाजवादी पार्टी (जसपा) को निर्णयमा निर्भर देखिएको छ । अर्कोतर्फ, एमालेले कांग्रेसबाहेकको सरकार गठनका लागि पहल थाल्ने संकेत दिएपछि मधेशमा नयाँ सत्तागठबन्धन निर्माणको सम्भावना पनि बढेको छ ।
एमालेका प्रमुख सचेतक हरिनारायण महतोले कांग्रेसबाहेकको सरकार गठनका लागि पहल अघि बढाउने बताएका छन् । नयाँ सरकार निर्माणका विषयमा नेपाली कम्युनिस्ट पार्टीसँग समन्वय भइरहेको उल्लेख गर्दै उनले दसैँपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग पनि छलफल सुरु गरिने बताए । एमालेको यो संकेतले वर्तमान सरकारलाई निरन्तरता दिनेभन्दा वैकल्पिक सत्तासमीकरण निर्माणतर्फ राजनीतिक गतिविधि अघि बढ्न सक्ने देखाएको छ ।
नयाँ सरकारको लागि जसपा निर्णायक बन सक्छ
१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबिच पार्टी एकता भएपछि बनेको एकीकृत शक्ति २६ सांसदसहित सबैभन्दा ठुलो समूहका रूपमा रहेको छ । एमालेका २४, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १४ र जनमत पार्टीका १२ सांसद छन् । नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।
एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसद जोड्दा ३८ मत मात्रै पुग्छ । त्यसैले यी दुई दलले मात्र सरकार गठन गर्न सक्दैनन् । नयाँ सरकार निर्माणका लागि जसपासहित अन्य दलको समर्थन आवश्यक पर्ने देखिन्छ । यही अंकगणितका कारण जसपा मधेश प्रदेशको सत्ताराजनीतिमा निर्णायक शक्तिका रूपमा उभिएको छ ।
एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विकल्प अघि सार्न सक्ने भए पनि त्यसका लागि आवश्यक बहुमत जुटाउन थप दलको समर्थन चाहिन्छ । आफ्नै नेतृत्वमा सरकार बन्न नसके जसपाको नेतृत्वमा वैकल्पिक सरकार गठनलाई सहयोग गर्ने विकल्पमा पनि एमालेभित्र छलफल हुन सक्ने नेताहरूको भनाइ छ । यस्तो अवस्थामा जसपाले कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने वा एमालेसहितको नयाँ गठबन्धनलाई सहयोग गर्ने भन्ने निर्णयले मधेशको आगामी राजनीतिक दिशा तय गर्नेछ ।


