धनगढी। सुदूरपश्चिम मोबाइल व्यवसायी संघले धनगढीमा मोवाइल चोरी गर्ने प्रहरीलाई कडा कार्वाही नगरीए कडा कदम चाल्ने चेतावनी दिएका छन्। आइतवार सुदूरपश्चिम मोबाइल व्यवसायी संघले एक विज्ञप्ती निकाल्दै धनगढीको ग्लोबल मोवाइल ग्यालरीबाट मोवाइल चोरी गर्ने प्रहरीलाई कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन्।


उनीहरुले यहि माघ ६ गते लागूऔषधको खानतलासी गर्न आएका प्रहरीले नै ग्लोबल मोवाइल ग्यालरीबाट मोबाइल चोरेको घटनाले व्यवसायीहरुलाई त्रसित बनाएको, हतोत्साहित बनाएको र पेशाबाट पलायन हुने अवस्था सृजना गरेको भन्दै संघले दोषीलाई कडा कारबाही गर्न माग गरेको हो। साथै सुदूरपश्चिम मोबाइल व्यवसायी संघले जिल्ला प्रशासन कैलालीमा निवेदन दिँदै उक्त घटनालाई विशेष रुपमा लिएर संलग्न व्यक्तिहरुलाई कानुन अनुसार कारबाही गरी त्यसको जानकारी समाजिक सञ्जालमार्फत दिन आग्रह गरेका छन्।संघका अध्यक्ष सुरेश सापकोटाले दोषीलाई कारबाही नभए कडा कदम चाल्ने समेत चेतावनी दिएका छन्।

यही माघ ६ गते राति लागू औषध कारोबार भइरहेको सूचना पाएको भन्दै अप्रेशनका लागि मोबाइल ग्यालरीमा छिरेका प्रहरीले मोवाइल चोरेको सीसीटीभी फुटेजमा देखिन्छ । यता चोरीमा संलग्न भएका जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत हवल्दार हेमबहादुर माल र प्रहरी जवान भरत बुडाल निलम्बनमा परि सकेका छन् ।


