कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले सामान्य अवस्थाका बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ।
कोरोना संक्रमणले स्वास्थ्यकर्मीसँगै सर्वसाधारणसमेत प्रभावित भएकाले जोखिम बढ्न सक्ने भन्दै सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नआउन आग्रह गरेको हो। बिहीबारसम्म महाकाली प्रादेशिक अस्पतालका १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
लक्षणमात्रै देखिएको स्वास्थ्यकर्मीको संख्या अझ बढी छ। यस्तो अवस्थामा अन्य बिरामीलाई समेत संक्रमण फैलन सक्ने भएकाले सामान्य अवस्थामा अस्पताल नआउन आह्वान गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए । उनका अनुसार अहिले महाकाली प्रादेशिक अस्पताल आउने बिरामीमध्ये अधिकांश बिरामी संक्रमित छन्।
उनका अनुसार बिहीबारमात्रै आकस्मिक कक्षमा ३५ जना संक्रमित भर्ना भएका छन् । जिल्लामा कोरोना संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ‚ जसका कारण विभिन्न सेवाहरू बन्द हुँदै आएका छन् । बुधबारमात्रै जिल्ला सदरमुकाममा रहेको भीमदत्त नगरपालिकाका १६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएको छ ।