काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली भूमी लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ। राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमीमा सडक निर्माण गर्दा पनि सरकार मौन बस्नु आश्चर्यजनक रहेको बताएका छन्।
लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको भन्दै राप्रपाले यो विषय गम्भीर आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा रहेको जनाएको छ । केही दिनअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा आफ्नो सरकारले सडक बनाइरहेको भनेर दिएको अभिव्यक्तिविरुद्ध राप्रपाले शनिबार विज्ञप्ति जारी गरेको हो।
‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ’, राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक नेपाली भूमी हो ।
यसरी आफ्नो भूमि अतिक्रमण भइरहँदा पनि सरकार र सत्तारूढ गठबन्धन मौन बसेको आरोप लगाउँदै राप्रपाले आश्चर्य प्रकट गरेको छ। आफ्नो भूमीमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध सरकारले प्रतिवाद गर्नुपर्छ। अगाडि भनिएको छ, तर भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारुढ गठबन्धनको पनि आश्चर्यननक मौनता दुखद् र रहस्यमय छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँगग कूटनीतिक र राजनीतिक तहको संवादमार्फत तत्काल निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरि समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ।’