दार्चुला। जिल्ला अस्पताल दार्चुलामा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आएको छैन् । जडान गरिएको १ वर्ष हुनै लाग्दा समेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा आउन नसकेको हो। \
प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शय्यासहित आइसीयूकक्ष, प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसीयू स्थापना गरेको थियो । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले गत वर्ष विसं २०७७ मङ्सिर २५ गते जिल्ला अस्पतालमा सो सेवाको शुभारम्भ गरेकी थिईन ।
कोभिडका सङ्क्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएको सो आइसीयूको लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मङ्सिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो। लामो समय जडान गरिएको आइसीयू दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको प्रशासन प्रमुख आन सिह डागाले जानकारी दिए ।
अहिले पनि आइसीयू चलाउन सक्ने जनशक्ति छैन ।“आइसीयू सञ्चालन गर्न दक्ष चिकित्सक चाहिन्छन् । त्यो जनशक्ति अहिले अस्पतालसँग छैन । जनशक्ति पठाउन नसक्दा अहिले पनि आइसीयू प्रयोगमा ल्याउन सकिएको छैन”, उनले भने।गत मङ्सिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसीयू कक्षमा उपकरण जडान गरिएको थियो । विशेषज्ञ जनशक्तिको अभावमा आइसीयू कक्ष सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । अहिले अस्पतालमा रहेका अधिकाशं चिकित्सक नै बिदामा छन् । अस्पतालमै सामान्य जाँचका लागि समेत चिकित्सक छैनन् ।”उनले भने ।आइसीयू कक्ष सञ्चालनमा आउन नसक्दा गम्भीर बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता कायमै छ।
आइसीयूको उद्घाटनको क्रममा सरोकारवाला निकायले गम्भीर खालका बिरामीलाई जिल्लामै उपचार गराउन सकिने बताएका थिए । एक वर्ष हुँदा पनि आइसीयू सञ्चालन भए/नभएकोबारे सरोकारवाला निकाय उदासिन रहेको स्थानीयवासीको आरोप छ । कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीलाई पनि आइसीयूमा राख्नुपर्ने हुन्छ। त्यस्ता बिरामीलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ । कोरोनाको तेस्रो लहर शुरु भइसकेको छ। अस्पतालका नवौँ तहका मेडिकल सुपरिटेन्डेण्ट र आठौँ तहका मेडिकल अधिकृतको दरबन्दी वर्षौैँदेखि रिक्त रहेको जनाएको छ। अस्पताल स्थापनादेखि अहिलेसम्म नवौँ तहको चिकित्सक जिल्ला अस्पताल नआएको अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डागाले बताए। अस्पतालमा हाल छात्रवृत्ति करारका चिकित्सक आर्दश लिम्बू, पूजा बम कार्यरत छन् ।