काठमाडौं। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती आज मनाइँदैछ। स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रम मार्फत उनको सम्झना गरिँदैछ।
नेपाली साहित्यका विराट प्रतिभा मानिने देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औंसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो।नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो।
सानै उमेरदेखि कविता लेख्न थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा उनी स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक पनि हुन्। देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गरेका थिए। नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए। विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए।
२०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन्। तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्न सक्ने क्षमता थियो। भनिन्छ( उनी एकपटक लेखिसकेको सिर्जनालाई पुनस् साफी गर्दैनथे।
देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ। चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु देवकोटाको साहित्यिक विशेषता हो।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे। उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन्। विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन्। देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो।
यस्ता छन् देवकोटाका चर्चित दुइ कविता
यात्री
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो ?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार
नसा नदीका तरल तर, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज
चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर
खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर
साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।
सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दुस्खको गानामा
दर्शन किन्तु कहिँ दिँदैन, चर्म९चछुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नव९देश बिरानामा
फर्क फर्क हे १ जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।।
पागल
जरूर साथी म पागल
यस्तै छ मेरो हाल।
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बासनालाई संबाद लिन्छु।
आकाशभन्दा पातला कुरालाई छुन्छु।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन
म देख्दछु, ढुङ्गालाई फूल
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ९ एक किसिमका चकोर फूल
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी १ छाल छाल
जरुर साथी म पागल
यस्तै छ मेरो हाल
तिमी चतुर छौ, वाचाल
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले
तिम्रो गिदी छ साथी
मेरो मुटु।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ
म तरल पद्य छु
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो
तिम्रो संसार ठोस छ।
मेरो बाफ
तिम्रो बाक्लो, मेरो पातलो
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई
मेरो छ वेग काँडाको साथी
तिम्रो सुनको र हीराको
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल।
जरुर साथी।
मेरो एक नशा ढिलो छ।
यस्तै छ मेरो हाल