काठमाडौं। सरकारले आज चीनबाट भेरोसेल खोपको पहिलो मात्रा (डोज) ल्याउँने भएको छ । अर्को हप्तादेखि लगायन सुरु गरिने उक्त खोप ल्याउन नेपाल वायुसेवा निगमले आजबाट उडान सुरु गरेको छ ।५५ वर्षमाथिका नागरिकलाई प्राथमिकतामा राखेर ल्याउन लागिएको खोप ल्याउन निगमले तीन वटा उडान गर्ने जनाएको छ । निगमको बाइडबडी ए ३३० जहाजबाट साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । सरकार–सरकार (जिटुजी) मार्फत चीनबाट खोप ल्याउन निगमको जहाज आज चीन उड्ने भएको छ । शुक्रबार खोप नेपाल आईपुग्ने छ ।
यस्तै,असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । सरकारले प्राथमिकतामा परेकालाई वैशाख ३१ गतेबाट पहिलो मात्रा (डोज)लगाउन आवेदन माग गरेको थियो । कोभिड–१९ पहिलो डोज खोपका लागि करिब बैशाख तेस्रो सातासम्म १४ लाख नागरिकले स्वैच्छिक आवेदन दिएका थिए ।यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।