धनगढी। नेपाल खेलकुद महासंघ नेकोस (NECOS) द्धारा कोभिड- नो भिड अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ। नेपाल खेलकुद महासङ्घ (NECOS) द्धारा कोरोना महामारीको बिचमा महामारीका बिरुद्ध अग्रभागमा रही युद्ध लड्ने फ्रन्टलाइनरहरूलाई सम्मान र हौसला बढाउन चलाइएको नेकोसको आह्वान कोभिड – नो भिड नामक राष्ट्रव्यापी विशेष अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा स्वास्थ्य सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष एवम राखेप कार्यकारी सदस्य एकेन्द्र कुँवर,महासङ्घका स्थायी कमिटी सदस्य एवम सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश चन्द सचिवालय सदस्यद्वय बालकृष्ण प्रसाईं र सत्यराज स्नेही,केन्द्रीय सदस्य तथा कैलाली जिल्ला संयोजक चन्द्रबहादुर बिष्ट,केन्द्रीय सदस्य रुपेश वि.क र कैलाली जिल्ला सचिव सुभास चन्द लगायतको उपस्थितिमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक श्री वामदेव गौतमलाई उक्त स्वास्थ्य सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिएको हो । देशव्यापी रूपमा संचालित सो कार्यक्रमको संयोजक नेकोसका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत रहनुभएको छ । यस हप्ता सुदूरपश्चिम प्रदेशभरिका विभिन्न ठाउँमा उक्त अभियान चल्ने जनाइएको छ ।