धनगढी। आर्थिक अभावका कारण चार वर्षदेखि प्रोटेस्टको अप्रेसन गर्न नसकेका कमले धामीको धनगढीस्थित माया मेट्रो अस्पतालले निशुल्क शल्यक्रिया गरेको छ । आर्थिक अभावका कारण चार वर्षदेखि प्रोटेस्टको अप्रेसन गर्न नसकेर शरीरमा पिसावको थैली बोकेर भौतारिरहेका बैतडी सिगास गाउँपालिका– १ माणैका कमले धामीको माया मेट्रो अस्पतालले निशुल्क शल्यक्रिया गरीएको हो। प्रोटेस्टको अप्रेशनका लागि माया मेट्रो अस्पताल भर्ना गरिएका धामीको पिसाव नलीमा पत्थर भेटिएपछि पहिलो चरणमा पत्थरीको अप्रेशन गरिएको हो। माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साँउदले प्रोटेस्टको अप्रेशन शनिवार गरिने बताए ।
आर्थिक अभावमा जिन्दगीका ६ दशक एउटा भोटो र कछाडमा बिताएका बैतडी सिगास गाउँपालिका– १ माणैका कमले धामी प्रोटेस्टको समस्या (पिसाव थैलीमा मासु पलाएका) का कारण चार वर्षदेखि पाईपद्धारा पिसाव निकालेर शरीरमा प्लाष्टिकको थैलो बोकेर भौतारिरहेका थिए। ह्युमानिटी फाउण्डेसन नेपालको आग्रहमा अध्यक्ष साँउदले प्रोटेस्टको अप्रेशन निशुल्क गर्ने बताएपछि धामीलाई बैतडीबाट धनगढी ल्याईएको हो। अस्पतालले दुई वटै अप्रेशन निशुल्क गर्ने प्रतिबद्धता गरेको छ । अप्रेशनमा संलग्न चिकित्सकहरु बरिष्ठ मुत्ररोग विशेषज्ञ सर्जन डा.नरेशमान श्रेष्ठ, बरिष्ठ ल्याप्रोस्कोपी तथा जनरल सर्जन डा.बिनय तिमिल्सिना, एनेस्थेसियोलोजिस्ट डा. मोहन भट्टराइ लगायतको टिमले निशुल्क शल्यक्रिया गर्ने प्रतिबद्धता गरेपछि धामीको अप्रेशन निशुल्क गर्ने प्रतिबद्धता गरेका हुन् । अस्पतालले औषधी उपचारको खर्च नलिने बताएको छ ।
चार वर्षअघि पिसाव बन्द भएपछि डडेल्धुरा अस्पताल पुगेका धामीलाई चिकित्सकले अप्रेसन गर्न सुझाव दिएका थिए । त्यहाँ अप्रेसन संभव थिएन । नेपालगञ्ज वा अन्यत्र उपचारका लागि जान उनीसंग पैसा थिएन । जिन्दगीमा दोस्रो जोर लुगा किन्न नसकेका धामीका लागि प्रोटेष्टको अप्रेसनका लागि पैसा जुटाउनु असंभव थियो । त्यतिबेला चिकित्सकले पाईपद्धारा पिसाव प्लाष्टिकसम्म आउने व्यवस्था गरेका थिए। त्यसयता उनी जिउमा प्लाष्टिकको थैली बोकेर बाँचिरहेका थिए । धामीको उपचारका लागि गरेको आग्रह सहर्ष स्वीकार गर्दै माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले अस्पतालले निशुल्क शल्यक्रिया गर्ने प्रतिबद्धता गरेका थिए । यसअघि पनि माया मेट्रो अस्पतालले थुप्रै असहाय,बिपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुको निशुल्क अप्रेसन तथा उपचार गरिसकेको छ ।