धनगढी। निर्सग अस्पतालद्धारा उखु पेल्ने मेसिनमा पेलिएको हातको सफल अप्रेसन गरेको छ । एक जना आर्थिक अवस्था कमजोर भएका ब्यक्तीको एउटा हात मात्र जोगिएको होइन, उनको सहारामा रहेको सिङ्गो परिवारको जीवन जिउने भरोसा जोगिएको छ । जब उखु पेल्ने मेसिनमा पेलिएको हातको सफल अप्रेसन पछि स्वयम ब्यक्ती र निर्सग अस्पताल परिवार खुशी भएका छन् । सो सफल अप्रेसन पछि निर्सग अस्पताल परिवारले मेसिनमा पेलिएको ब्यक्तीको भोगाई र हातको सफल अप्रेसनपछिको मिलेको खुसी बारे भनाई यस प्रकार लेखीएको छ । आर्थिक अवस्था एकदमै कमजोर भएका एकजना युवाले सानैबाट भएपनि आफै काम सुरुवात गर्ने सोच बनाउनुभएछ ।
त्यही कामबाट भएको आम्दानीले घरायसी खर्च चलाउने र पढाइ पनि अगाडि बढाउने निर्णय लिई गर्मी सिजनमा जुस बनाएर बेच्ने उद्देश्यले उखु पेल्ने कोलु मेसिन चलाउन थाल्नुभएछ । उखु पेल्ने क्रममा दुर्भाग्यवश एकदिन उहाँको हातनै कोलु मेसिनमा पेलिन पुगेछ र रगताम्य हात लिएर उहाँ रातिको समयमा हाम्रो ईमर्जेन्सी कक्षमा आइपुग्नुभयो । घरको सम्पुर्ण आर्थिक भार उहाँ माथी नै भएकाले उहाँ हात बच्छ कि बच्दैन भनेर एकदमै चिन्तित हुनुहुन्थ्यो । हाम्रो ईमर्जेन्सी चिकित्सकीय टिमले उहाँको हातको अवस्था राम्रोसँग हेर्यो, आकस्मिक व्यवस्थापनको पाटो र आवस्यक चेकजाँच पछि थप उपचार तथा अप्रेसन गर्नुपर्ने भएकोले तुरुन्तै हाडजोर्नी तथा नसारोग विशेषज्ञ चिकित्सकलाई बोलाईयो ।
विशेषज्ञ चिकित्सकको टिमले सम्पुर्ण चेकजाँच पछि बिरामी र चोटको अवस्था तथा सम्भावित सबै परिणामहरू बारे राम्रोसँग बिरामीसँग छलफल गरिसकेपछि रातिनै उहाँको शल्यक्रिया गरियो । शल्यक्रिया पश्चात उहाँको घाउ क्रमिक रुपमा सुधार हुँदै गयो र एक महिनापछि उहाँ उक्त हातले लेख्न सक्ने र दैनिक कामकाजहरु गर्नसक्ने अवस्थामा पुग्नुभयो । उहाँ स्वयं अस्पताल आएर आफूले नियमित दैनिक सबै कामकाजहरु गर्नसक्ने भएको बताउँदा हाम्रो खुशीको सिमा नै रहेन । उहाँको शल्यक्रियामा हाडजोर्नी तथा नसारोग विशेषज्ञद्वय डा. श्रीराम खाती र डा. ओमकार बिष्ट लगायतको टिम संलग्न थियो ।