धनगढी । दशरथ चन्द नगरपालिका–१, पितलथलाकी भुन्टी लुहारले नेपाली नागरिकताको प्रमाणपत्र हातमा पाउँदा उहाँको उमेर ७२ वर्ष पुगिसकेको थियो । जीवनको उत्तरार्धमा नागरिकता पाउनु उहाँका लागि एउटा कागजको प्रमाणपत्र मात्र थिएन, राज्यसँग आफ्नो औपचारिक सम्बन्ध स्थापित भएको अनुभूति पनि थियो । अविवाहित तथा बौद्धिक अपाङ्गता भएकी भुन्टी बुवाआमाको सहारामा जीवन बिताउँदै आउनुभएको थियो । बुवाआमाको निधनपछि दाजुको सहारामा जीवन गुजार्दै आएकी उहाँसँग नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने कतिपय सेवा सुविधाबाट समेत वञ्चित हुँदै आउनुभएको थियो ।
नागरिकता बनाउने प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा ७२ वर्षसम्म उहाँको नागरिकता बन्न सकेन । आफू जस्ता नागरिकले राज्यबाट सामाजिक सुरक्षा भत्तालगायतका सुविधा पाउने जानकारीसमेत उहाँलाई थिएन ।
भुन्टीको अवस्थाबारे जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी मीना अर्याल स्वयम् वडा कार्यालय पुग्नुभयो । उहाँले वडा कार्यालयमै भुन्टीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । नागरिकता हातमा परेपछि भुन्टी अब सामाजिक सुरक्षा भत्ता पाउने आशामा खुसी देखिनुभयो । उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो “नागरिकता पाएँ अब भत्ता पनि पाइन्छ भन्ने थाहा भयो ।”

