बाजुरा: धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शनका लागि पुगेका एक युवक लेक लागेर गम्भीर बिरामी भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। बुढीगंगा नगरपालिका- ६ का ३४ वर्षीय चन्द्र पाध्याय बुधबार बिहान बडीमालिकाको त्रिवेणी पाटन क्षेत्रमा बिरामी भएका हुन्। बडीमालिका मेला भर्न तथा भगवतीको दर्शनका लागि पुगेका पाध्यायलाई उच्च उचाइका कारण अक्सिजनको मात्रा कम हुँदा स्वास्थ्यमा समस्या देखिएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि तत्काल उद्धारको पहल गरिएको थियो। नेपाली सेनाको हेलिकोप्टरमार्फत पाध्यायलाई त्रिवेणी पाटनबाट उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार हेलिकोप्टर उद्धारको खर्च बुढीगंगा नगरपालिकाले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ। समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको बडीमालिकामा जनैपूर्णिमाको अवसरमा प्रत्येक वर्ष ठूलो धार्मिक मेला लाग्ने गर्छ। यस वर्ष भदौ ११ गते बिहीबार मुख्य पूजा तथा मेला हुँदैछ।
उच्च उचाइमा रहेको बडीमालिकामा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा श्रद्धालु तथा तीर्थयात्री पुग्ने गरेका छन्। उच्च लेकाली क्षेत्रमा पुग्दा अक्सिजनको कमीका कारण लेक लाग्ने,टाउको दुख्ने,वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या हुन सक्ने भएकाले तीर्थयात्रीलाई विशेष सावधानी अपनाउन चिकित्सक तथा सुरक्षाकर्मीले आग्रह गर्दै आएका छन्।
बडीमालिका मेलाका क्रममा यसअघि पनि उच्च उचाइका कारण बिरामी परेका तीर्थयात्रीलाई उद्धार गरी उपचारका लागि पठाउने गरिएको छ। यस वर्ष पनि मेला अवधिभर सम्भावित स्वास्थ्य समस्या तथा आपत्कालीन अवस्थालाई ध्यानमा राखेर उद्धार तथा स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ।

