धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिँदै गएको छ। बजेटमा जनताको आवश्यकताभन्दा बिचौलियाको स्वार्थ हाबी भएको आरोप लगाउँदै डडेल्धुराका नेता गोविन्द बोहराले पार्टी परित्यागको घोषणा गरेका छन्।
डडेल्धुराको परशुराम नगरपालिका–८ का पूर्ववडाध्यक्षसमेत रहेका बोहराले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपाको प्रदेश कमिटी सदस्यता त्यागेको घोषणा गरेका हुन्। उनले मुख्यमन्त्री खगराज भट्टमाथि कमिसनको प्रवृत्तिलाई प्रश्रय दिएको आरोपसमेत लगाएका छन्।
‘खगराज भट्ट, यस्ता कमिसनखोर पार्टीमा रहुन्जेलसम्म हामी नेकपाको सदस्य हुन सक्दैनौँ। प्रदेश कमिटी सदस्यता परित्याग,’ उनले फेसबुकमा लेखेका छन्।
मुख्यमन्त्री भट्ट आफ्नै निर्वाचन क्षेत्रका जनताको माग र आवश्यकताभन्दा बिचौलियामार्फत आएका योजनालाई प्राथमिकता दिएको बोहराको आरोप छ। जनताको आवश्यकता सम्बोधन गर्ने योजना समावेश गराउन पटकपटक मुख्यमन्त्रीलाई भेट्दा पनि सुनुवाइ नभएको उनले बताएका छन्।
‘आफ्नो निर्वाचन क्षेत्रको सांसद मुख्यमन्त्री भएपछि उत्साहित भएका थियौँ। तर, बिचौलियामार्फत योजना आए। जनताको माग लिएर तीन पटकसम्म हामी गयौँ, तर कुनै योजना परेनन्,’ बोहराले भने, ‘यस्तो कमिसनतन्त्र भएको पार्टीमा बस्नुभन्दा नबस्नु उचित ठानेर राजीनामा दिँदै छु।’
उनले पार्टी परित्यागको घोषणा गरिसकेको र प्रदेश कमिटीमा औपचारिक राजीनामा बुझाउने तयारीमा रहेको बताएका छन्।
बोहराले अर्को फेसबुक पोस्टमार्फत पनि बजेट विनियोजनप्रति असन्तुष्टि जनाएका छन्। जनताको आवश्यकता र पार्टीको वर्गीय उद्देश्यअनुसार योजना छनोट नभएको भन्दै उनले आर्थिक हैसियत र पहुँच भएका व्यक्तिहरूको प्रभाव पार्टीमा बढ्दै गएको आशय व्यक्त गरेका छन्।
मुख्यमन्त्री भट्टको गृहजिल्ला डडेल्धुरामा बजेट विनियोजनलाई लिएर सत्तारूढ दलकै नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाइरहेका छन्। विशेषगरी डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ (क) मा योजना छनोट र बजेट विनियोजनको विषय विवादित बनेको छ।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेलगत्तै त्यसको विरोध सुरु भएको थियो। बजेटप्रति सर्वसाधारणसँगै सत्तारूढ दलका सांसद तथा मन्त्रीहरूले समेत असन्तुष्टि जनाउन थालेका छन्।
योजना छनोट र बजेट विनियोजनलाई लिएर बढिरहेको विवादले सुदूरपश्चिम सरकारको बजेटमाथिको असन्तुष्टि अब पार्टीभित्रै विद्रोहका रूपमा देखिन थालेको छ। बोहराको पार्टी परित्याग घोषणाले सत्तारूढ दलभित्रको असन्तुष्टि थप सतहमा ल्याएको छ।


