धनगढी । राष्ट्रिय सभाको बिहीबारको प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रश्नकर्तालाई नै प्रतिप्रश्न गरेका छन्। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणबारे उठाइएको प्रश्नमा उनले यो विषयलाई संसदमा बारम्बार उठाउँदा पीडित परिवारको घाउ कोट्याउने काम हुने भन्दै सांसदहरूलाई अब सदनमा यो विषय नउठाउन आग्रह गरेका हुन्।
प्रश्नोत्तरको क्रममा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लामो समय बितिसक्दा पनि दोषी पत्ता लाग्न नसकेको कारणबारे सरकारसँग जवाफ मागेका थिए। उनले सरकारले निर्मलालाई कहिलेसम्म न्याय दिलाउने भन्दै प्रश्न गरेका थिए।
जवाफमा गृहमन्त्री गुरुङले सरकार शान्ति सुरक्षा र अपराध अनुसन्धानमा निरन्तर सक्रिय रहेको बताए। उनले निर्मला पन्तको घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै सांसद विश्वकर्मालाई नै, “तपाईंहरू सरकारमा हुँदा यो काम किन गर्नुभएन?” भन्दै प्रतिप्रश्न गरे।
उनले विगतका सरकारले समाधान गर्न नसकेको विषय अहिलेको सरकारमाथि मात्र थोपर्न नहुने धारणा राख्दै संवेदनशील घटनालाई राजनीतिक बहसको विषय नबनाउन आग्रह गरे। बारम्बार संसदमा चर्चा गर्दा पीडित आमाको पीडा झन् बल्झिने भएकाले यस्तो विषयमा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले अनुसन्धान सूक्ष्म रूपमा अघि बढिरहेको भन्दै यसबारे धेरै सार्वजनिक रूपमा बोल्न नमिल्ने बताए। उनले सांसदहरूलाई प्रतिनिधिसभा र राष्ट्रिय सभामा यो विषय पुनः नउठाउन आग्रह गर्दै कुनै जिज्ञासा भए व्यक्तिगत रूपमा भेटेर सोध्न अनुरोध गरे।
“मसँग यसको उत्तर छ, तर सदनमा बसेर बारम्बार एउटी आमाको पीडालाई सम्झाइरहनु मेरो नैतिकताले दिँदैन,” भन्दै उनले संसद बाहिर विस्तृत जानकारी दिन तयार रहेको पनि बताए।

