धनगढी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले आफ्नो २३ औँ स्थापना दिवस मनाएको छ । शुक्लाफाँटा नगरपालिका ५ वन समिति स्थित गणको हेडक्वार्टर परिसरमा विशेष समारोहको आयोजना गरी २३ औँ स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसको अवसरमा हेडक्वार्टर परिसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी र खेलाडीहरूलाई सम्मान सँगै विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहित स्थापना दिवस मनाइएको थियो ।
वि।सं २०५८ मा स्थापित एक अर्धसैनिक राष्ट्रिय सुरक्षा निकायका रूपमा सशस्त्र प्रहरी बल नेपालको गठन भएको थियो । त्यसपछि २०६० सालमा कञ्चनपुरमा सीमा सुरक्षा कार्यालय भनी स्थापना गरिएको थियो । त्यसपछि २०७५ सालमा सशस्त्र प्रहरीको पुनर्संरचना गर्ने मन्त्रीपरिषद्को निर्णय अनुसार २०७५ साल साउनको १३ गते शुक्लाफाँटा नगरपालिका ५ नवसमितिमा तत्कालीन सीमा सुरक्षा कार्यालयलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वर गण बनाइएको थियो ।
गणको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा ११ करोड ७२ लाख २५ हजार ३ सय ३४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । चालु आर्थिक वर्ष २०८३ र ०८४ को साउन महिनाको हालसम्म मात्रै पनि ५० लाख २६ हजार १ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पनि गणले जनाएको छ ।
त्यस्तै लागू औषध सम्बन्धी ३१ घटनामा ५० जनालाई पक्राउ गरिएको छ । एक नाल भरुवा बन्दुक बरामद गरिएको छ । समारोहमा गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले जिल्लाको समग्र शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, विशिष्ट व्यक्ति सुरक्षा, तस्करी नियन्त्रण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए ।
उनका अनुसार विपद्का ३४ घटनामा सुरक्षाकर्मी परिचालन गरी ४१ जनाको जीवित उद्धार गरिएको छ भने १० वटा शव खोजी तथा उद्धार गरिएको छ । विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि १८ पटक नमुना अभ्यास र १७२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी एक हजार २ सय ५५ जनालाई सहभागी गराइएको छ ।
सीमा सुरक्षातर्फ १२ पटक सीमा पैदल गस्ती, भारतीय सीमा सुरक्षा बल एसएसबी सँग ६ वटा समन्वय बैठक तथा ५०० पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको विवरणमा उल्लेख छ । साथै १३ वटा सीमा स्तम्भ सशस्त्र प्रहरीले मर्मत तथा रंगरोगन गरेको तथा संयुक्त फिल्ड सर्वे टोलीमार्फत ५२ वटा सीमा स्तम्भ मर्मत, तीन वटा नयाँ सीमा स्तम्भ निर्माण र चार वटा सीमा स्तम्भ पुनर्निर्माण गरिएको छ ।समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत शुक्लाफाँटा र बेलौरी नगरपालिकाका ३८ जनालाई दुई चरणमा समुदाय विपद् स्वयंसेवक तालिम प्रदान गरिएको छ । विपद्को सूचना प्रणालीलाई प्रभावकारी बनाउन दुई हजार ५ सय ९२ जना विपद् सूचक तथा निर्वाचन प्रहरीलाई अभिलेखीकरण गरी निरन्तर सम्पर्कमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ । स्थापना दिवस समारोहमा विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा गणले वर्षभरि गरेका गतिविधिबारे जानकारी गराइएको थियो ।

