धनगढी । महाकाली नदीमा फसेका एक पुरुषको सकुशल उद्धार गरिएको छ । मंगलबार महाकाली नदीको बिचमा बनेको टापुमा फसेका दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका ४५ वर्षीय राम बहादुर सिंहलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार महाकाली नदीमा स्थानीय फसेको सूचना पछि इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र तथा सशस्त्र प्रहरी गुल्म देविस्थानबाट १० (१० जनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।
प्रनाउ रावतका अनुसार मानसिक सन्तुलन ठिक नभएका सिंह मंगलबार बिहान पौडिखेल्ने क्रममा दोधारा चाँदनी झोलुङ्गे पुलबाट करिब २ किलोमिटर दक्षिण तर्फ नदीको बिचमा भरिएको बालुवाको टापुमा फसेका थिए ।
रबर बोट तथा आवश्यक सामाग्री सहित खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले सिंहको सकुशल उद्धार गरेको प्रनाउ रावतले बताउनुभयो । उद्धार पछि सिंहलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले नदीको बहाव बढेको अवस्थामा हाललाई पौडी खेल्नका लागि नजान समेत आम सर्वसाधारणमा आग्रह गरेको छ ।

