धनगढी: स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले बिहीबार धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट आफ्नो २४औँ सत्याग्रह सुरु गर्नुभएको छ। तर विगतका अनशनहरूमा जस्तो व्यापक जनसमर्थन यसपटक भने देखिएको छैन। बरु सुदूरपश्चिमका स्थानीय, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विश्वविद्यालय पक्षधरहरूले अनशन फिर्ता लिन आग्रह गर्दै विरोध जनाउन थालेका छन्।
डा. केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा भएको स्वार्थ बाझिने नियुक्ति तत्काल बदर गर्न, चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान संशोधन गर्न, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने निर्णय खारेज गर्न तथा न्यूनतम मापदण्ड र पूर्वाधार नपुगेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजमा सिट थप गर्ने निर्णय रोक्न माग गर्नुभएको छ। उहाँले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउन, विगतमा सरकारसँग भएका लिखित सहमति कार्यान्वयन गर्न तथा सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि भारतमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्न आवश्यक पूर्वाधार र सेवा विस्तार गर्न पनि सरकारसँग माग गर्नुभएको छ।
त्यसैगरी, २०८२ भदौ २३ र २४ गते भएका हत्या, आगजनी, लुटपाट र विनाशका घटनाका दोषीलाई कडा कारबाही गर्न तथा २०४६ सालयता उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीमाथि भएका भ्रष्टाचार तथा अपराधको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने माग पनि उहाँले अघि सार्नुभएको छ। सरकारले आफ्ना मागप्रति पूर्ण बेवास्ता गरेकाले बाध्य भएर पुनः सत्याग्रह सुरु गर्नुपरेको डा। केसीको भनाइ छ। उहाँले नीति निर्माण, कार्यान्वयन र सार्वजनिक संस्थामा निजी मेडिकल माफियाको प्रभाव बढेको आरोप समेत लगाउनुभएको छ।
यता, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अनशनले असर पार्न सक्ने भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढेको छ। विश्वविद्यालयको भविष्य अन्योलमा पर्ने र यस वर्ष पनि चिकित्सा शिक्षा अध्यापन प्रभावित हुन सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। धनगढीका स्थानीय तथा राजनीतिकर्मीहरूले डा. केसीलाई भेटेरै अनशन त्याग्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका नेता नितिश जोशीले अहिले सत्याग्रहको आवश्यकता नरहेको भन्दै अनशन तोड्न आग्रह गर्नुभएको छ। अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले सुदूरपश्चिमको भविष्यसँग खेलवाड हुने गरी अनशन नगर्न आग्रह गर्नुभएको छ।
अत्तरियाका अशोक देवकोटाले डा. केसी कुनै स्वार्थ समूहबाट प्रभावित भएर आएको आरोप लगाउँदै विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्तिमा फेरि विवाद सिर्जना भए यस वर्ष पनि चिकित्सा शिक्षा अध्यापन सुरु हुन नसक्ने अवस्था आउने भएकाले यो विषयमा अनशन नबस्न आग्रह गर्नुभएको छ। यस्तै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले पनि डा। केसीलाई अनशन तत्काल फिर्ता लिन आग्रह गरेको छ। समितिका संयोजक लोकराज पाण्डेले सुदूरपश्चिमवासीको लामो संघर्ष, त्याग र बलिदानबाट स्थापना भएको विश्वविद्यालयलाई कुनै पनि हालतमा कमजोर बनाउन नदिने बताउँदै माग सम्बोधन नभए प्रतिअनशनमा बस्ने चेतावनी दिनुभएको छ।
डा। केसीको २४औँ सत्याग्रहले एकातर्फ चिकित्सा शिक्षामा सुधारको बहसलाई पुनः अघि सारेको छ भने अर्कोतर्फ सुदूरपश्चिमको बहुप्रतीक्षित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको भविष्य सुरक्षित राख्नुपर्ने स्थानीयको मागलाई पनि थप बल दिएको छ। यही कारण यसपटकको सत्याग्रह विगतका अनशनभन्दा फरक परिस्थिति र चुनौतीबीच अघि बढिरहेको देखिएको छ।

