धनगढी । कैलालीको गौरीगंगा नगरपालिका १० की मनिषा बोहोराले दक्षिण एसियाली कराते प्रतियोगितामा लगातार तेस्रो पटक स्वर्ण पदक जित्दै ऐतिहासिक सफलता हासिल गर्नुभएको छ ।
हाल सरस्वती माध्यमिक विद्यालय, गौरीगंगा–१० उदासीपुरमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया मनिषाले बंगलादेशको राजधानी ढाकामा सम्पन्न १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप–२०२६ अन्तर्गत महिला जुनियर ६६ केजी तौल समूहमा स्वर्ण पदक जित्दै नेपाललाई गौरवान्वित बनाउनुभएको हो ।
यसअघि उहाँले सन् २०२४ मा भुटानको थिम्फुमा सम्पन्न ८औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप तथा सन् २०२५ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न ९औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मा पनि स्वर्ण पदक जितेको बताउनुभयो । लगातार तीन संस्करणमा स्वर्ण जित्दै मनिषाले दक्षिण एसियाली करातेमा ’ह्याट्रिक’ पूरा गर्नुभएको छ ।
मनिषाले गत वर्ष चीनमा सम्पन्न २३औँ एसिया प्यासिफिक जुनियर, क्याडेट तथा यू–१४ कराते च्याम्पियनसिप मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेको बताउनुभयो । उहाँले दुबईमा आयोजित डब्लुकेएफ कराते–१ युथ लिग मा समेत सहभागिता जनाउनु भएको थियो ।
राष्ट्रियस्तरमा पनि मनिषाको प्रदर्शन उत्कृष्ट रहेको छ । उहाँले ५६औँ राष्ट्रिय कराते च्याम्पियनसिप–२०२४ मा स्वर्ण तथा १५औँ राष्ट्रपति रनिङ शिल्ड–२०२५ मा रजत पदक जित्नु भएको थियो ।
वि।सं। २०६६ माघ २ गते जन्मिएकी मनिषाका पिता नरेन्द्रबहादुर बोहरा र माता गमादेवी बोहरा हुनुहुन्छ । कराँते यात्राको सुरुवात वि।सं। २०७८ सालदेखि गरेकी उहाँले छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्नुभएको छ ।
मनिषाको पछिल्लो सफलताप्रति गौरीगंगा नगरपालिका, सरस्वती माध्यमिक विद्यालय, खेलप्रेमी तथा सुदूरपश्चिमवासीले खुसी व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका छन् ।
नेपाली राष्ट्रिय कराते टोलीसंगै रहेर तालिम लिईरहेकी उहाँले आफ्नो सफलताका पछाडी नेपाल कराते महासंघका केन्द्रिय अध्यक्ष युवराज लामा, उपाध्यक्ष मकेन्द्रबहादुर सिंह, प्रमुख प्रशिक्षक कुशल श्रेष्ठलगायत कराते महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयको सहयोग रहेको बताउनुभयो ।

