बैतडी । बैतडीको डिलासैनी गाउँपालिका अन्तर्गत रहेको कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्यकर्मीहरू टर्चलाइटको भरमा सुत्केरी ९डेलिभरी० सेवा दिन बाध्य भएका छन्। करिब एक–दुई महिनादेखि विद्युत् सेवा बन्द रहे पनि सम्बन्धित निकायले समस्या समाधानमा चासो नदिएको भन्दै स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन्।
स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी शान्ति पन्तले सामाजीक सन्जाल मार्फत २४सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने भए पनि विद्युत् अभावका कारण सेवा प्रवाह निकै कठिन बनेको बताइन्। उनका अनुसार प्रयोग हुने टर्चलाइट चार्ज गर्न ३० मिनेट पैदल हिँडेर अर्को स्थान पुग्नुपर्ने अवस्था छ। एक पटक चार्ज गरेपछि टर्चले जम्मा ३–४ घण्टामात्र काम गर्ने भएकाले रातिको समयमा सुत्केरी सेवा सञ्चालन गर्न थप चुनौती हुने गरेको छ।
ूराति आकस्मिक डेलिभरीका बिरामी आएपछि टर्चको भरमा सेवा दिनुपर्ने अवस्था छ। यस्तो कठिनाइ भोग्नेले मात्र यसको पीडा बुझ्न सक्छ, स्वास्थ्यकर्मी पन्तले भनिन्। उनका अनुसार स्वास्थ्य चौकीमा नियमित विद्युत् आपूर्ति त परको कुरा, ब्याकअप विद्युत् प्रणालीसमेत उपलब्ध छैन। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो अवस्था लामो समयसम्म रहँदा सेवाग्राही र स्वास्थ्यकर्मी दुवै समस्यामा परेको उनले बताइन्।
शान्ति पन्तले सम्बन्धित निकायलाई तत्काल विद्युत् समस्या समाधान गर्न आग्रह गर्दै यसरी नै अवस्था लम्बिए स्वास्थ्य सेवा नै प्रभावित हुने चेतावनी दिइन्। कहिलेकाहीँ सेवा नै बन्द गरौँ जस्तो लाग्छ, तर सेवाग्राहीको अनुहार सम्झँदा त्यसो गर्न सकिँदैन, उनले भनिन्। स्थानीयवासीले पनि स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति नियमित गरिनुका साथै आकस्मिक सेवाका लागि ब्याकअप विद्युत् प्रणालीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो गम्भीर समस्यातर्फ स्थानीय, प्रदेश र संघीय सरकारको तत्काल ध्यान जानुपर्ने उनीहरूको भनाइ छ।

