धनगढी । कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सर्पदंशको उपचारका लागि पोर्टेबल भेन्टिलेटर सहितको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । उनले सर्पदंशको उपचारका लागि नेपाल सरकारको मापदण्ड अनुसारका सम्पूर्ण उपकरण मालाखेती अस्पतालमा पुगेको बताउँदै अहिले जडानको काम भइरहेको बताए । उनले साउन महिनामा सर्पदंशको उपचार सेवा सञ्चालनमा आउने बताए ।
उनले सर्पदंशको उपचारका लागि अस्पतालमै भएका जनशक्ति परिचालन गरिने बताए । ‘सर्पदंशको उपचारका लागि अस्पतालमा भएका भएका जनशक्तिलाई तालिम दिने काम भइसकेको छ’ उनले भने ‘सर्पदंशको लागि अस्पतालमा छुटै कोठाको व्यवस्था गरेर सेवा सुरु हुन्छ ।’ सर्पदंशको सेवा सञ्चालनका लागि प्रदेश सरकारले १० लाख लगानी गरेको उनले बताए । उनले केही उपकरण अस्पतालमै रहेको र मुख्य उपकरण पोर्टेबल भेन्टिलेटर भने सेती अस्पतालबाट ल्याइएको बताए ।
गोदावरी नगरपालिकाको १५ औँ नगर अधिवेशनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२ र ०८३ को नीति, कार्यक्रम तथा बजेटमार्फत पनि मालाखेती अस्पतालमा सर्पदंशको उपचार सेवा विस्तार गर्ने घोषणा गरेको थियो । सोही नीति अनुसार प्रदेश सरकारको सहयोगमा सर्पदंशको उपचार सेवा सञ्चालनको तयारीमा रहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम पनि उपलब्ध हुने सुनिश्चित भइसकेको उनले बताए । उनले औषधी संघ सरकारको आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट उपलब्ध हुने बताए ।

