धनगढी । भुइयाँफाँटाका कृषक खोजराम चौधरी मोहना नदीपारि खेतमा जाने क्रममा नदीमा डुब्नु भयो । उहाँ रोपाइँका लागि बोरिङको पाइप ९सेक्सन पाइप० बोकेर नदी तर्ने क्रममा डुब्नु भएको हो ।
शनिबार बिहान नदीमा डुबेर बेपत्ता हुनुभएका चौधरीको आइतबार बिहान मात्रै घटनास्थलभन्दा करिब तीन किलोमिटर तल शव भेटिएको थियो । सोही ठाउँमा गत वर्ष पनि भुइयाँफाँटाका चौधरीकै गोतियार घरका टीकारामले नदीमा डुबेर ज्यान गुमाउनुभएको थियो । नदीपारि रहेको खेतमा जाने क्रममा साइकल बोकेर नदी तर्ने क्रममा उहाँ डुबेको स्थानीय बताउँछन् । कैलालीको कैलारी गाउँपालिका–७, भुइयाँफाँटाका किसानले खेतीपातीका लागि पारि जाने क्रममा यसरी ज्यान गुमाउने बाध्यता रहेको छ । नम्बरी जग्गाजमिन मोहना नदीपारि र बस्तीवारि रहेकाले खेतमा जाने क्रममा किसानले ज्यान गुमाउने गरेको स्थानीयले बताएका छन् । स्थानीय रामकुमार चौधरीले भन्नुभयो, “यो नदीले नपत्याउने गरी धेरै किसानको ज्यान लिइसकेको छ ।”

