धनगढी । तराईका जिल्लामा गर्मी बढेसँगै सर्पको जोखिम पनि बढ्न थालेको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा पछिल्लो दुई महिनामै तीन सयभन्दा बढी सर्प उद्धार गरिएका छन् भने सेती प्रादेशिक अस्पतालमा सर्पदंशका बिरामीको संख्या पनि बढ्न थालेको छ।
तापक्रम बढेसँगै सर्पहरू दुलोबाट बाहिर निस्किएर चिसो तथा सुरक्षित स्थानको खोजीमा मानव बस्तीमा प्रवेश गर्न थालेपछि घर, गोठ तथा विभिन्न संरचनाभित्र सर्प देखिने घटना बढेका छन्। यससँगै सर्प उद्धारका घटनामा समेत उल्लेख्य वृद्धि भएको छ।
धनगढी उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका अनुसार वैशाख महिनामा १०५ र जेठ महिनामा २०१ गरी पछिल्लो दुई महिनामा मात्रै ३०६ वटा सर्प उद्धार गरिएको छ। गर्मी बढेसँगै दैनिक १० देखि १७ वटासम्म सर्प उद्धार हुने गरेको तथ्यांकले देखाएको छ।
विपद् व्यवस्थापन शाखाका प्रमुख दीपक भण्डारीका अनुसार धनगढी उपमहानगरपालिकाले २०८० असार ३१ गतेदेखि सर्प उद्धार सेवा सञ्चालन गर्दै आएको छ। तालिमप्राप्त नगर प्रहरीका दुई टोलीमार्फत हालसम्म तीन हजार ६ सय ५१ वटा सर्प सुरक्षित रूपमा उद्धार गरी प्राकृतिक बासस्थानमा छाडिएको उनले बताए।
घर वरपर सर्प देखिन थालेपछि स्थानीयमा त्रास बढ्ने गरेको भए पनि अहिले उपमहानगरपालिकालाई खबर गरेर सुरक्षित उद्धार गराउने अभ्यास बढेको स्थानीयको भनाइ छ। धनगढी–१ की स्थानीय सिर्जना परियारले समयमै उद्धार सेवा उपलब्ध हुँदा सर्पदंशबाट हुने सम्भावित दुर्घटना कम गर्न सहयोग पुगेको बताइन्।
यद्यपि कैलाली–कञ्चनपुरका ग्रामीण क्षेत्रमा अझै पनि सर्पदंशका बिरामी अस्पताल पुग्न नपाउँदै ज्यान गुमाउन बाध्य हुने अवस्था रहेको छ। सेती प्रादेशिक अस्पतालका चिकित्सक डा। शेरबहादुर कम्बरका अनुसार गर्मी मौसम सुरु भएयता दैनिक दुईदेखि पाँच जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
नेपालमा गोमन, राजगोमन, करेत, मुगा र बाघेजस्ता विषालु सर्प पाइने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। रातिको समयमा टर्चलाइट प्रयोग गर्ने, जुत्ता वा गमबुट लगाउने, बाक्लो पाइन्ट लगाउने तथा घर वरपरको घाँस–झार सफा राख्ने जस्ता उपाय अपनाए सर्पदंशको जोखिम कम गर्न सकिने विज्ञहरू बताउँछन्।


