धनगढी: लगातार २७ वर्षसम्म सार्वजनिक सवारी साधन चलाउँदा कुनै पनि दुर्घटना नगराएका बस चालक प्रेमराज जोशी सम्मानित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले आयोजना गरेको ट्राफिक सुरक्षा गोष्ठीको अवसरमा सोमबार जोशीलाई सम्मान गरेको हो। लामो समयदेखि सुरक्षित, अनुशासित र जिम्मेवार ढंगले सवारी सञ्चालन गर्दै आएका जोशीलाई दुर्घटनारहित सेवा प्रवाह गरेबापत सम्मान गरिएको कार्यालयले जनाएको छ।
बैतडीका जोशीले सुरुवाती चरणमा ट्रक चालकका रूपमा सवारी पेशा सुरु गरेका थिए। उनले २०६० सालदेखि सार्वजनिक बस चलाउन थालेका हुन्। त्यसयता काठमाडौंसहित पहाडी तथा लामो दूरीका विभिन्न रुटमा बस सञ्चालन गर्दै आएका छन्।
हाल सुदूरपश्चिम प्रदेश नम्बर सु.प.प्र. ०१–००१ ख ३८६४ नम्बरको बस चलाउँदै आएका जोशीले करिब तीन दशकको चालक जीवनमा कुनै पनि सवारी दुर्घटना नगराएको बताइन्छ। सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै ट्राफिक नियमको पूर्ण पालना गरेका कारण उनी अन्य चालकका लागि समेत उदाहरणीय बनेका छन्।
सम्मान ग्रहण गर्दै चालक जोशीले ट्राफिक नियमको पालना, संयमित गति र यात्रुको सुरक्षाप्रतिको जिम्मेवारीका कारण आफू दुर्घटनामुक्त रहन सफल भएको बताए। उनले सबै चालकलाई नियमअनुसार सवारी चलाउन आग्रह समेत गरे।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले सुरक्षित सवारी सञ्चालन संस्कृतिको विकास गर्न तथा जिम्मेवार चालकलाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। ट्राफिक प्रहरीका अनुसार दुर्घटना न्यूनीकरणका लागि चालकको सचेतना र अनुशासन सबैभन्दा महत्वपूर्ण पक्ष हो।
२७ वर्षसम्म दुर्घटनारहित सेवा दिएका चालक जोशीको सम्मानले अन्य चालकलाई पनि सुरक्षित र जिम्मेवार रूपमा सवारी सञ्चालन गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।


