धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व चयन सम्पन्न भएको छ। प्रदेश अधिवेशनबाट प्रकाश बिष्ट सभापतिमा निर्वाचित भएका छन्। बिष्टको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति चयन भएसँगै अन्य पदाधिकारीहरूको समेत टुंगो लागेको हो। निर्वाचन परिणामअनुसार प्रदेश उपसभापतिमा भोजराज जोशी (क्वालिटी) निर्वाचित भएका छन्। त्यसैगरी महामन्त्री पदमा सन्तोष जोशी विजयी भएका छन् भने सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट निर्वाचित भएका छन्।
यस्तै, कोषाध्यक्षमा गणेश बोहरा निर्वाचित भएका छन् भने प्रवक्ताको जिम्मेवारी तेज ठकुल्लाले प्राप्त गरेका छन्। नवनिर्वाचित पदाधिकारीहरूले पार्टीको संगठन विस्तार, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुदूरपश्चिममा रास्वपाको उपस्थितिलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अधिवेशनमार्फत चयन भएको नयाँ नेतृत्वले प्रदेशभर पार्टी संगठनलाई सुदृढ बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ। पार्टीको स्थापना कालदेखि नै सक्रिय रहँदै आएका नेता तथा कार्यकर्ताहरूको सहभागितामा सम्पन्न अधिवेशनले आगामी राजनीतिक रणनीति र संगठनात्मक योजनाबारे समेत छलफल गरेको बताइएको छ।


