धनगढी : जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी निरीक्षक हेमराज भट्टलाई २०८३ साल जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको अपराध अनुसन्धान शाखामा शाखा प्रमुखका रूपमा कार्यरत भट्टलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा नगद पुरस्कारसहित सम्मान गरिएको हो।
कार्यालयका अनुसार चालु आर्थिक वर्षमा दर्ता भएका तथा विगतदेखि पेन्डिङ रहेका मुद्दाहरूको सफल अनुसन्धान, फरार प्रतिवादीहरूको खोजतलास तथा पक्राउ, लागुऔषध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक गतिविधि सञ्चालन तथा मातहत प्रहरी कर्मचारीहरूको प्रभावकारी परिचालनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/०८३ का लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी कार्यालय दार्चुलाबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन, जिल्लामा हुने अपराधहरूको तथ्याङ्क विश्लेषण तथा कार्ययोजना निर्माणमा समेत उनको योगदान उल्लेखनीय रहेको कार्यालयले जनाएको छ।
प्रहरी संगठनले सुम्पिएको जिम्मेवारी लगनशीलता, कर्तव्यनिष्ठा र व्यावसायिक दक्षताका साथ सम्पन्न गर्दै आम नागरिकमाझ प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्न योगदान पुर्याएको भन्दै उनलाई ‘जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक गौरव महतले उनलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।


