धनगढी । कैलालीको कैलारी गाउँपालिका–२ स्थित कैलाली गाउँमा खेत खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। सेनाको प्रारम्भिक अनुसन्धानबाट उक्त वस्तु सकेट बम रहेको खुलेको छ।
स्थानीय डोगुल डगौरा थारुले खेतमा पानी निकासका लागि नाली खन्ने क्रममा आइतबार साँझ शंकास्पद वस्तु देखेपछि जनप्रतिनिधिमार्फत प्रहरीलाई खबर गरिएको थियो। वस्तु फलामबाट बनेको र माथिल्लो भागमा धातुको ढक्कन जडान गरिएको अवस्थामा भेटिएको बताइएको छ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले क्षेत्रलाई सुरक्षित घेराभित्र राख्नुका साथै नेपाली सेनासँग समन्वय गरेको थियो।
सोमबार बिहान तेघरीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो। सेनाले वस्तुको परीक्षण तथा आवश्यक अनुसन्धानपछि बिहान करिब ९ः४० बजे सुरक्षित रूपमा निष्क्रिय पारेको जनाएको छ।
डिस्पोजलपछिको परीक्षणमा उक्त शंकास्पद वस्तु सकेट बम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। बम कसले, कहिले र किन त्यहाँ राख्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।


