धनगढी । जिल्लाको कूल भूभागको झण्डै ७५ प्रतिशत वनजङ्गलले ढाकेको डडेल्धुरामा अतिक्रमण बढ्दै गएको छ । मध्य पहाडी जिल्ला डडेल्धुरामा महाभारत पर्वतसँगै चुरे र नदी, खोला किनार बेसिन क्षेत्रहरू रहेका छन । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै मुख्य कैलाली–डडेल्धुरा जोड्ने महाकाली राजमार्ग डडेल्धुरामा करिब ५५ किमी पर्दछ ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार वनजङ्गलसँगै यस राजमार्ग छेउछाउको जमिनमा अतिक्रमण बढेको छ । हाल पाँच मिटर चौडा कालोपत्रे रहेको यस राजमार्गको क्षेत्राघिकार दायाँ बाँया २५–२५ मिटर बनाई ५० मिटर फराकिलो बनाउने योजना छ ।
तर राजमार्ग क्षेत्रमा सडक र वनको जमिन अतिक्रमण गरी किनारमै पक्की घरहरू निर्माण गरिएका छन । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार डडेल्धुराको कुल क्षेत्रफल एक लाख ५३ हजार ८०० हेक्टर क्षेत्रफल रहेको छ ।
यसमध्ये एक लाख १५ हजार हेक्टर क्षेत्रफलमा वन फैलिएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार जिल्ला भरिमा हाल ३६३ दशमलब ३८ हेक्टर वनको जमिन अतिक्रमण भएको छ ।
आर्थिक वर्ष २०५५ र ५६ यता मात्रै यो क्षेत्रफल अतिक्रमण भएको पाइएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत भीमप्रसाद कडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म अतिक्रमण गरिएको ४६ दशमलब ३२ हेक्टर क्षेत्रफल हटाइएको छ ।
आर्थिक वर्ष २०७८ र ७९ साल यता अतिक्रमण हटाउन सुरु गरिएको थियो । केही दिन अघि मात्रै डडेल्धुराको सिमाना गैराबजार देखि अनारखोली बजारसम्म अतिक्रमण गरिएको क्षेत्रको लागत सङ्कलन गरिएको छ ।


