धनगढी । धनगढीमा भारतीय राजदूतावास र आईसीसीआरको सहयोगमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँद्वारा आयोजित कथक नृत्य कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दीप्ति गुप्ताको नेतृत्वमा प्रस्तुत गरिएको उक्त कार्यक्रम सोमबार साँझ ओम प्यालेस, धनगढीमा सम्पन्न भएको हो।
कार्यक्रममा सञ्चारकर्मी, विद्यार्थी, अग्रज शिक्षाविद् तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साँझ ५ बजेदेखि सुरु भएको प्रस्तुति अघि नै दर्शकहरूले उत्साहका साथ सहभागिता जनाएका थिए।
कथक नृत्यमार्फत पौराणिक कथाहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष हरिशंकर ठाकुरले जानकारी दिए। उनका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।


