काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन् ।
पौडेल आईजीपी बढुवाको पहिलो दाबेदार थिए । उनी १८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए ।
उनीसँगै आईजीपीको बढुवाका लागि सीमा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए । तर उनीहरु पौडेल भन्दा जुनियर थिए ।
पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए । राजु अर्याल आईजीपी बनेपछि एआईजीको रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो । पौडेलले १८ चैत २०८४ सम्म अर्थात दुई वर्ष संगठन प्रमुखको जिम्मेवारी निर्वाह गर्ने छन् । विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत् २०८४ मा अवकाशमा जानेछन् ।
२०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका उनी सशस्त्र गठन भएपछि स्थानान्तरण भएर सशस्त्रमा आएका थिए ।त्यसपछि उनलाई १८ असार २०५८ मा सशस्त्रको कामु डीएसपी बनाइएको थियो । १८ चैत २०५८ मा उनी स्थायी बढुवा भएर डीएसपी बने ।
२९ चैत २०६३ मा एसपीमा बढुवा भएका पौडेल २ जेठ २०७० मा एसएसपी भएका थिए । १३ कात्तिक २०७५ मा डीआईजी र ६ जेठ २०७९ मा उनी एआईजीमा बढुवा भएका थिए ।


