धनगढी । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने गुम्बा गाउँ उम्मेदवार नपुग्ने गाउँका रूपमा परिचित रहेको छ। जिल्ला सदरमुकाम मार्तडीबाट निकै दुर्गम तथा आवतजावत असहज हुने भएकाले गुम्बा गाउँमा उम्मेदवारहरू पुग्न कठिन हुने गरेको स्थानीयवासी बताउँछन्। मार्तडीबाट झण्डै दुई सय किलोमिटर तथा पालिका केन्द्रबाट करिब १५० किलोमिटर दूरीमा रहेको यस गाउँमा पैदलै दुई–चार दिन हिँडेर पुग्नुपर्छ। गाउँ अत्यन्त दुर्गम भएकाले पुस्तौँदेखि अहिलेसम्म यहाँ धेरैजसो उम्मेदवारहरू पुगेका छैनन्।
गाउँमा करिब ६५ घरपरिवार जनजाति समुदायको बसोबास छ भने मतदाताको सङ्ख्या पनि करिब त्यही हाराहारीमा रहेको छ। सडक सुविधा नहुँदा जिल्लाकै दुर्गम बस्तीमध्ये एक मानिने यस गाउँमा उम्मेदवारहरू मत माग्न प्रायः नआउने गरेका छन्।
सडक त के, पहिले घोडेटो बाटोसमेत नभएकाले ज्यान जोखिममा राखेर भिरालो बाटो हुँदै आवतजावत गर्नुपर्ने अवस्था थियो। २०७६ सालमा पालिकाले स्थानीयलाई केही सहज हुने गरी घोडेटो बाटो निर्माण गरिदिएपछि आवतजावतमा केही सुधार आएको छ, तर अझै पनि अधिकांश उम्मेदवारहरूले गाउँ पुगेर मत मागेका छैनन्।
हिमाली गाउँपालिका–३ का स्थानीय जसबहादुर भण्डारीका अनुसार गाउँ अत्यन्त दुर्गम भएकाले यहाँ उम्मेदवार मात्र होइन, अन्य व्यक्तिहरू पनि कमै पुग्ने गरेका थिए। गाउँमा मुख्यतः भोटे जनजातिको बसोबास रहेको छ र उनीहरू भेडा, बाख्रा, घोडा तथा चौँरी पालनमा निर्भर छन्।
स्थानीय नरी रोकायाका अनुसार सडक नहुँदा गाउँबाट पालिका केन्द्रसम्म आउजाउ गर्न निकै कठिनाइ हुने गरेको छ। पहिला घोडेटो बाटोसमेत नहुँदा स्थानीयले डोरीको सहारामा भिर पार गर्दै आवतजावत गर्नुपर्ने अवस्था थियो। गत वर्ष पालिकाले घोडेटो बाटो निर्माण गरेपछि अहिले आवतजावतमा केही सहजता आएको छ, तर निर्वाचनका बेला उम्मेदवारहरू भने अझै पनि गाउँ नपुग्ने गरेको उनले बताए ।


