धनगढी । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार तथा पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह मनु ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान तीव्र पारेका छन् । अभियानको एक महत्वपूर्ण चरणका रूपमा उनले तीन वडाबाहेक अधिकांश वडामा चुनावी सम्पर्क समिति तथा सम्पर्क कार्यालय स्थापना गरिसकेका छन् । यस कदमलाई काँग्रेसले स्थानीय तहसम्म संगठन विस्तार र मतदातासँग प्रत्यक्ष संवाद सुदृढ गर्ने प्रयासका रूपमा लिएको छ ।
प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउन धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ देखि ६, ११ र १३ मा सोमबार सम्पर्क कार्यालय स्थापना गरिएको थियो । त्यसैगरी मंगलबार धनगढी उपमहानगरपालिकाका वडा नम्बर १४ देखि १९ तथा कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ मा पनि सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । यी कार्यालयहरू मार्फत पार्टीका गतिविधि सञ्चालन गर्नुका साथै मतदातासँग नियमित सम्पर्क कायम गर्ने योजना रहेको बताइएको छ ।
काँग्रेसको चुनावी अभियान अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ का विभिन्न वडाहरूमा सचिवालय तथा सम्पर्क कार्यालय उद्घाटन गरिएको जानकारी दिइएको छ । अभियान अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा आज सम्पर्क कार्यालय उद्घाटन गरेको छ । त्यस्तै ७, , ९, १० र १२ मा सम्पर्क कार्यालय स्थापना हुन बाँकी रहेको छ । ती वडामा पनि चाँडै कार्यालय स्थापना गरी निर्वाचनसम्म अभियानलाई थप तीव्र बनाइने उम्मेदवार शाहको सचिवालयले जनाएको छ ।

सम्पर्क कार्यालय उद्घाटनका क्रममा उम्मेदवार शाहले रिबन काट्दै ती कार्यालयहरू निर्वाचन अभियान अवधिभर सञ्चालनमा रहने जानकारी दिए । उनले सम्पर्क कार्यालयलाई केवल प्रचार केन्द्रको रूपमा मात्र नभई जनताको आवाज सुन्ने, स्थानीय समस्या बुझ्ने र समाधानको पहल गर्ने साझा थलोका रूपमा विकास गरिने बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार शाहले निर्वाचन प्रक्रियालाई सभ्य, मर्यादित र अनुशासित बनाउन सबै राजनीतिक दल र उम्मेदवारको साझा दायित्व भएको उल्लेख गरे । उनले चुनावी प्रतिस्पर्धाका नाममा आरोप–प्रत्यारोप, व्यक्तिगत आक्षेप र नकारात्मक प्रचारमा नलाग्न सबैलाई आग्रह गरे । ‘निर्वाचनमा सबैले आचारसंहिता पालना गर्नुपर्छ । सभ्य तरिकाले प्रतिस्पर्धा गरौँ । समाजलाई विभाजन गर्ने गतिविधि नगरी सकारात्मक एजेन्डाका साथ जनतामाझ जानुपर्छ,’ उनले भने । शाहले अरूको आलोचना गर्नुभन्दा आफ्नै दल, संगठन र व्यवहार सुधारमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
सम्पर्क कार्यालयमार्फत स्थानीय तहका समस्या नजिकबाट बुझ्ने, नागरिकसँग प्रत्यक्ष संवाद गर्ने र निर्वाचन घोषणापत्रलाई व्यवहारमा उतार्ने प्रतिबद्धता पनि उम्मेदवार शाहले व्यक्त गरे ।

