धनगढी । दार्चुला जिल्लाका नौवटै स्थानीय तहका तीन हजार ७९२ जना भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासी र विगतमा काम अधुुरा तथा अपुरा रहेकालाई जग्गाधनी प्रमाणपुर्जा दिलाउन बाँकी रहेको नेपाल सरकार भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिए ।
यसअघि यहाँको दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकाका गरी ७२ जना अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उनले बताए । बाँकी रहेका भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नुपूर्व गर्नुपर्ने कामहरू भइरहेको उनको भनाई छ ।
अहिले स्थानीय तहहरूलाई भूमि समस्या समाधान आयोगमा प्रविष्ट भएका र हुन बाँकी निवेदनको तथ्याङ्क मागेको तथा त्यसलगत्तै उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने उनले बताए ।
आयोगले अहिले विगतमा काम अधुरा र अपुरा रहेका सेतो प्रमाणपुर्जा भएका नौगाड गाउँपालिकाका चार जना, महाकाली नगरपालिकाका तीन जना अव्यवस्थित बसोवासी र चार जना सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने अन्तिम तयारी गरेको छ ।
अव्यवस्थित बसोवासीलाई राजस्व चुक्ता गरेपछि तथा सुकुम्वासीलाई निःशुल्क रूपमा प्रमाणपुर्जा वितरण गर्ने गरिएको उनको भनाई छ ।
यहाँको महाकाली नगरपालिकामा ४३१ जना, शैल्यशिखर नगरपालिकामा ६२८ जना, लेकम गाउँपालिकामा १७३ जना, नौगाड गाउँपालिकामा ३२७ जना, मार्मा गाउँपालिकामा १६८ जना, अपि हिमाल गाउँपालिकामा ६९१ जना, मालिकार्जुन गाउँपालिकामा ९४७ जना, दुहुँ गाउँपालिकामा १६१ जना र व्यास गाउँपालिकामा २६६ जना मूमिहिन, दलित, सुकुम्वासी, अव्यवस्थितको सङ्ख्या रहेको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाले जनाएको छ ।
स्थानीय तहहरुले तथ्याङ्क सङ्कलनलाई तीब्र रूपमा अघि बढाए जिल्लाको भूमि सम्बन्धीका सबै समस्या हल गर्ने जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले बताए ।

