धनगढीः कैलालीमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबारदेखि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन खुला गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालतर्फ गरी कुल ४ हजार ९८ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। भर्ना प्रक्रिया सम्पन्न भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खटाउने निर्वाचन प्रहरीको संख्या टुंगो लाग्ने उनले बताए।
प्रतिनिधि सभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) अनुसार भर्ना प्रक्रिया अघि बढाइएको जनाइएको छ। सोही कार्यविधिअनुसार पाँच दिनसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको सिंहले जानकारी दिए। उनका अनुसार पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले जिल्ला प्रहरी कार्यालय कैलालीमा आवेदन दिन सक्नेछन्।
कैलाली जिल्लामा पाँच निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार जिल्लामा ५ लाख ५१ हजार ५२ जना मतदाता, २३७ मतदानस्थल तथा ६४१ मतदान केन्द्र कायम गरिएको छ।


