धनगढी । कैलालीको गोदावरीमा गौशालामा राखिएका छाडा गाई गोरु छोडिएपछि अहिले बजार भरी जताततै देख्न थालिएका छन् । गौशालामा गाई गोरु मर्न थालेको भन्दै केही स्थानीयले गाई गोरु गौशालाबाट बाहिर निकालेपछि अहिले अत्तरिया बजार आसपासका क्षेत्रमा जताततै देखिन थालेका हुन ।
यसरी सडकमा छाडा चौपाया आउँदा सवारी दुर्घटनाको जोखिम समेत बढेको थियो । गोदावरी नगरपालिकाले ४ महिना अघि गोदावरी नगरपालिका – ७ मा गौशाला निर्माण गरेपछि बजारमा छाडा चौपाया देखिन छोडेका थिए ।
तर, नगरपालिकाले ५० चौपाया अटाउने क्षमताको निर्माण गरेको गौशालामा १ हजार बढी गाई गोरु राखिदा दैनिक जसो मर्न थालेका थिए भने घाँस र पानीको पनि उचित व्यवस्थापन गर्न नसकेपछि स्थानीयले गौशालामा गाई गोरु तड्फिएर मर्न थालेको भन्दै बाहिर निकालेका थिए ।
५० वटा चौपायाहरू अट्न सक्ने क्षमताको गौशालाको भदौ १० गते कृष्ण जन्माष्टमीका दिन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । गौशाला निर्माणका लागि नगरपालिकाले ५० लाख खर्च गरेको थियो । जसमा जसमा ५० गाई राख्न सकिने गौशाला, स्टोर, हेरालु घर रहेका थिए ।
तर, पछिल्लो समय उक्त गौशालामा १ हजार भन्दा बढी छाडा चौपाया गाई गोरु राखिएपछि अस्तव्यस्त बनेको गौशालामा धमाधम गाई गोरु मर्न थालेपछि आइतबार गौशाला भित्रका गाई गोरु सडकमा छाडिएको हो ।

स्थानीयले गौशालामा ठेलमठेल राखिएका गाई गोरु दैनिक जसो मरिरहेका भए पनि उचित व्यवस्थापन नगरेको, खाना, पानी नदिएर भोक भोकै राखेको भन्दै गौशालाको गेट खोलेर बाहिर छोडिदिएका हुन ।
गौशाला समितिका अध्यक्ष टीका राम बमले आइतबार सिडिओ, मेयर लगायतकाले गौशालाको अवलोकन गरेर उचित व्यवस्थापन गर्न निर्देशन दिए पनि केही स्थानीयले गोशालाको गेट खोलेर गाई गोरु बाहिर पठाएको बताए ।उनले गौशालामा क्षमता भन्दा बढी गाई गोरु हुँदा नै व्यवस्थापन हुन नसकेको बताए । उनले गौशालामा राखेका गाई गोरु बाहिर निकालेपछि किसान भने चिन्तित बनेको बताए ।
गौशालाबाट गाई गोरु निकालेपछि ४ जना हेरालु पनि घर गइसकेको बताए । ‘गौशालामा १२ सय भन्दा बढी गाई थिए’ उनले भने ‘अहिले पनि बाहिर नआएका २ सय जति गाई भित्रै छन् ।’ उनले गौशाला भित्र बढीमा एक सय गाई अटाए पनि बाँकी गाई खुला ठाउँमै बस्ने गरेको बताए ।

