धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई भेटेका छन् । मुख्यमन्त्री शाहले आइतबार आफ्नो निवासमा बोलाएर उपकुलपति प्रा।डा। सुनिलकुमार जोशी तथा रजिस्ट्रार डा। भीम चन्दलाई भेटेका हुन ।
भेटमा मुख्यमन्त्री शाहले नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई बधाई तथा शुभकामना दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा मुख्यमन्त्री शाहले सफल कार्यकालको कामना व्यक्त गर्दै विश्वविद्यालयको समग्र विकास, गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवामा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । असार ३१ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको थियो ।

