धनगढी: जिल्ला डडेल्धुरा प्रशासन कार्यालयले सतर्कता अपनाउन अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० ले देशका विभिन्न स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेसंगै जिल्लाले समेत सुरक्षित रहन अनुरोध गरेको छ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा साउन २ गते शनिबार र ३ गते आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। यस्तै देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
प्राधिकरणका अनुसार लगातारको वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, कटान, गेग्रान बहाव तथा शहरी क्षेत्रमा जलमग्न हुने जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको हो। प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न, विशेषगरी रातो रङले चिन्हित उच्च जोखिमयुक्त जिल्लाहरूमा सावधानी अपनाउन आग्रह गरेको छ। साथै तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकहरूलाई
प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त राजमार्गमा डोजर, एक्साभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न तथा आवश्यक परे जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि निर्देशन दिएको छ। यस्तै खोलानाला, नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन प्राधिकरणले आग्रह गरेको छ।
आपत्कालीन सहायता आवश्यक परे विपद् सहायता नम्बर ११४५, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको ११४९ मा सम्पर्क गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

