भेनेजुएलाको संकट केवल आर्थिक असफलताको कथा मात्र होइन। यो साम्राज्यवाद, दलाल पुँजीवाद र आन्तरिक वर्ग–विचलनको संयुक्त परिणाम हो। प्राकृतिक रूपमा विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश आज गम्भीर संकटमा फस्नु, कार्ल माक्र्सले भनेझैँ उत्पादनका साधनमाथिको वर्गीय नियन्त्रण कति निर्णायक हुन्छ भन्ने ज्वलन्त उदाहरण हो।
चुनाव जित्नु मात्र पर्याप्त हुँदैन
राज्यसत्ता हातमा पर्नु र चुनाव जित्नु मात्र समाजवादी रूपान्तरणका लागि पर्याप्त हुँदैन भन्ने कुरा भेनेजुएलाले स्पष्ट देखाएको छ। निकोलस मदुरोले सन् २०१३ देखि निरन्तर चुनाव जित्दै आए पनि पश्चिमी साम्राज्यवादी शक्तिहरूले वामपन्थी समाजवादी सत्ता उदयलाई स्वीकार गरेनन्। मदुरो सरकारविरुद्ध अतिरञ्जित र तथ्यहीन भ्रम फैलाइयो, आर्थिक नाकाबन्दी र अन्तर्राष्ट्रिय दबाब सिर्जना गरियो।
यही शैली आज हाम्रो देशमा पनि देखिन्छ—स्थापित नेतृत्वमाथि बिना तथ्य र सत्यताको आरोप लगाइँदै युवालाई निराश बनाउने योजनाबद्ध प्रयास। यसको परिणामस्वरूप भदौ २४ जस्ता घटनाले देशलाई नै अस्थिरतातर्फ धकेलेको ताजा उदाहरण हाम्रो सामु छ। ती शक्ति र पात्रहरू आज राष्ट्रिय राजनीतिमा जनताबीच कृत्रिम रूपमा लोकप्रिय बन्दै जानु, पश्चिमी शक्तिको प्रभाव र योजनाकै उपज हो।
राज्यसत्ता भए पनि अर्थतन्त्र बुर्जुवाकै नियन्त्रणमा
भेनेजुएलामा बैंकिङ प्रणाली, आयात–निर्यात, वितरण संयन्त्र र सञ्चार माध्यम अझै पनि बुर्जुवा वर्गकै नियन्त्रणमा रहे। यसको प्रत्यक्ष असर जनजीवनमा पर्यो—उत्पादन पक्ष ध्वस्त भयो, कालोबजारी फस्टायो, बेरोजगारी बढ्यो र जनताको जीवन दिनप्रतिदिन कठिन बन्दै गयो।
यसबाट नेपाली जनताले गहिरो पाठ सिक्नुपर्छ—सरकार परिवर्तन भएर मात्र हुँदैन। बुर्जुवा कर्मचारीतन्त्रको रूपान्तरण र जनताको चेतनामा परिवर्तन मुख्य कुरा हो।
आत्मनिर्भर अर्थतन्त्र विना समाजवाद सम्भव छैन
आत्मनिर्भर अर्थतन्त्र र गृहस्थ उत्पादन विना समाजवाद नारामा मात्र सीमित हुन्छ। भेनेजुएलाले तेलमा निर्भर अर्थतन्त्र त बनायो, तर कृषि र औद्योगिक उत्पादनलाई सुदृढ गर्न सकेन। यही कमजोरीलाई साम्राज्यवादी शक्तिहरूले हतियार बनाए।
यो हाम्रो लागि गम्भीर चेतावनी हो। जल, जमिन, श्रम र सीपमा आधारित उत्पादन क्रान्ति नगरी कुनै पनि हालतमा समाजवाद आउँदैन र टिक्दैन।
वैचारिक कठोरता र अनुशासनको अपरिहार्यता
क्रान्तिकारी तथा समाजवादी नेता–कार्यकर्ता र नेतृत्वमा वैचारिक कठोरता, अनुशासन र नैतिक दृढता अनिवार्य हुन्छ। अवसरवाद, भ्रष्टाचार र आन्तरिक दलाल पुँजीवादी वर्गसँगका सम्झौताले मदुरो सरकारको सफलता र सपना कमजोर बनायो। आज भेनेजुएलामा स्वाधीनता र सार्वभौमसत्तामै संकट देखिनु यसको परिणाम हो।
हामीले बुझ्नै पर्ने मुख्य कुरा के हो भने माक्र्सवाद भावना मात्र होइन; वैज्ञानिक अनुशासन र निरन्तर वर्ग–संघर्षको अभ्यास हो।
निष्कर्ष: चेतावनी र शिक्षा
अन्ततः भेनेजुएलाको अनुभव नेपाली नेतृत्व र नेपाली जनताका लागि चेतावनी र शिक्षा दुवै हो। साम्राज्यवादको विरोध भाषणमा होइन, उत्पादनमुखी संगठन, जनमुखी सुशासन र सशक्त राज्यसत्ताबाट मात्र सम्भव छ।
यदि हामी साँच्चिकै समाजवादी मार्गमा अगाडि बढ्न चाहन्छौँ भने भेनेजुएलाको गल्ती दोहोर्याउने होइन, त्यहाँबाट उठेका ऐतिहासिक शिक्षालाई आत्मसात् गर्नुपर्छ। समाजवादी संगठन निर्माणमा तीव्र रूपमा लाग्नुपर्छ, किनकि वर्गसंघर्ष अझै जारी छ। वर्गसंघर्षको अन्तिम सफलताको विकल्प समाजवाद नै हो।
लेखक: मिनराज बडु
नेता, नेपाली कम्युनिस्ट पार्टी


