धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दुई जना प्रदेशसभा सांसदलाई लिखित स्पष्टीकरण सोधेको छ । संसदीय दलको बैठकमा नियमित अनुपस्थित रहने तथा पार्टी अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै संसदीय दलका नेता खगराज भट्टले साविक नागरिक उन्मुक्ति पार्टीबाट एकता प्रक्रियामार्फत आएका सांसद रामेश्वर चौधरी र घनश्याम चौधरीलाई शुक्रबार स्पष्टीकरण पत्र पठाएका हुन् ।
पत्रमा प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको, विपक्षी दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको आरोप उल्लेख गरिएको छ । त्यसैगरी, नेकपाको प्रदेशसभा संसदीय दल समायोजन प्रक्रियामा असहयोग गरेको तथा औपचारिक बैठकहरूको जानकारी हुँदाहुँदै पनि लगातार अनुपस्थित रहने गरेको आरोप पनि लगाइएको छ ।
संसदीय दलका नेता भट्टले दलको विधान र अनुशासन उल्लंघन भएको उल्लेख गर्दै पत्र प्राप्त भएको ४८ घण्टाभित्र स्वयं उपस्थित भई तथ्यपरक र चित्तबुझ्दो जवाफ पेस गर्न निर्देशन दिएका छन् ।


