धनगढी: सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसदको सयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँबराबरको अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक गरेका हुन् । संघीय सरकारको बजेटमा अटाएका सुदूरपश्चिम प्रदेशका लगभग सबै आयोजना पुरानै छन् । तर, कुनै पनि आयोजनामा रकम भने तोकिएको छैन । सुदूरपश्चिमका प्रसिद्ध छ क्षेत्र जोडेर विशिष्ट पर्यटकीय विकास कार्यक्रम अगाडि बढाइने बजेटमा उल्लेख छ ।
‘रामारोशन, खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा र मालिकार्जुनलाई जोडेर सुदूरपश्चिममा विशिष्ट चर्तुर्दिक पर्यटकीय विकास अगाडि बढाउने छु,’ वाग्लेले बजेट भाषणमा भने । रामारोशन अछाम, खप्तड अछाम, डोटी, बझाङ र बाजुरा, बडीमालिका बाजुरा, शैलेश्वरी डोटी, उग्रतारा डडेल्धुरा र मालिकार्जुन दार्चुला जिल्लामा रहेका छन् । यस्तै, खप्तड, रामारोशन, बडीमालिका, बुढीनन्दालाई जोड्नेगरी उच्च पहाडी पर्यापर्यटन पदमार्गको विकास गर्ने समेत बजेटमा भनिएको छ । आगामी आर्थिक वर्षमा खप्तड–बडीमालिका–शुक्लाफाँटा प्रादेशिक पर्यटकीय कोरिडोर बनाउने अर्थमन्त्री वाग्लेले बताए ।
यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–गड्डाचौकी खण्ड स्तरोन्नतिका लागि अध्ययन हुने भएको छ । अर्थमन्त्री वाग्लेले आगामी वर्षभित्रै सडक स्तरोन्नतिका लागि अध्ययन सम्पन्न गर्ने बताए । यसअघि २०८२/०८३ को बजेट भाषणममा चालु वर्षभित्रै स्तरोन्नतिको काम सुरु हुने बताइएको थियो । ‘पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया खण्ड स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सुरु गरिने छ । त्यसका लागि २१ अर्ब १९ करोड विनियोजन गरेको छु,’ अघिल्लो जेठ १५ मा प्रस्तुत गरिएको चालु वर्षको बजेट भाषणमा भनिएको थियो । यस्तै, महाकाली कोरिडोरअन्तर्गतको दार्चुला–टिंकर खण्डमा ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइने वाग्लेले बताए ।
उनले सेती राजमार्ग तथा खुटिया–दीपायल सडकको स्तरोन्नतिलाई तीव्रता दिइने बताए । ऊर्जातर्फ बेतन कर्णाली र चैनपुर सेती आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउने तथा बुढीगंगा जलविद्युत् आयोजनाको निर्माणलाई तीव्रता दिइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । बजेटमा सिँचाइतर्फ दुई योजना अटाएका छन् । महाकाली सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्ने तथा रानीजमरा सिँचाइ आयोजनाअन्तर्गत लम्की क्षेत्रको पूर्वाधार विकास गर्ने योजना बजेटमा अटाएको हो । महाकाली नदीको व्यवस्थापन कार्यका लागि पनि रकम छुट्याएको बजेट भाषणमा अर्थमन्त्री वाग्लेले बताए ।
यस्तै सरकारले कैलालीको धनगढीमा रहेको फाप्ला मैदान निर्माणको योजना पनि बजेटमा समेटेको छ । फाप्लामा तीन वर्षभित्र इन्डोर मल्टीप्रपोज स्टेडियम बनाउने अर्थमन्त्री वाग्लेले बताए । उक्त स्टेडिएम दुई हजार क्षमताको हुने उनले बताए । यस्तै, फाप्लामा क्रिकेट मैदान निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने अर्थमन्त्री वाग्लेले बताए ।
सुदूरपश्चिमका लागि बहुप्रतिक्षीत आयोजनाका रूपमा रहेको कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पनि चालु शैक्षिक सत्रभित्रै चिकित्सा शिक्षा अध्यापन सुरु हुने विषय बजेटमा अटाएको छ । अर्थमन्त्री वाग्लेले एमबीबीएससहित चार विधामा अध्यापन सुरु गरिने बताए । नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अहिले सय शय्याको अस्पताल मात्रै सञ्चालन भइरहेको छ । गेटामा झण्डै सात अर्बको संरचना तयार पारिएको छ । बजेटमा सुदूरपश्चिममा गुणस्तरीय टेलिफोन नेटवर्क विस्तार गरिने पनि बताइएको छ ।


