धनगढी : कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ बङराकटानका २७ वर्षीय निराजन ठगुन्ना र भारतको लखिमपुर जिल्ला पलियाका २८ वर्षीय रिङ्गल गुप्ता रहेका छन्।
उनीहरूलाई बिहीबार दिउँसो करिब १२ बजे धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोक–जुगेडा सडकखण्डबाट लागूऔषध व्युरो महेन्द्रनगरको टोलीले पक्राउ गरेको जनाइएको छ।
प्रहरीले उनीहरूको साथबाट १४५ ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


