धनगढीः नेपाली काँग्रेसको देउवा समूह निकट सुदूरपश्चिम स्तरीय भेला धनगढीमा सुरु भएको छ। प्रदेश समितिको आयोजनामा सुरु भएको भेलामा पूर्व केन्द्रीय सदस्य नारायणप्रकाश साउँद प्रमुख अतिथिका रूपमा सहभागी रहेका छन् भने कार्यक्रमको अध्यक्षता प्रदेश सभापति वीरबहादुर बलायरले गरिरहेका छन्।
भेलामा संस्थापन इतर समूहका नेताहरूको बाक्लो उपस्थिति रहे पनि संस्थापन पक्षका कुनै पनि नेता सहभागी भएका छैनन्। कार्यक्रममा पूर्व केन्द्रीय सदस्य रमेश लेखक, मोहन बस्नेत, कुन्दन काफ्ले, केदार कार्की लगायत सुदूरपश्चिमबाट केन्द्रमा प्रतिनिधित्व गर्ने देउवा समूहका नेताहरू सहभागी छन्।
त्यस्तै, प्रदेशका जनप्रतिनिधि, मुख्यमन्त्री कमलबहादुर शाह, मन्त्रीहरू तथा प्रदेशका देउवा पक्षका नेता–कार्यकर्ताको समेत उल्लेख्य उपस्थिति रहेको छ। यसअघि यही सभाहलमा नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा संस्थापन पक्षको भेला सम्पन्न भएको थियो।


