धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्ययमन्त्री कमलबहादुर शाहले असहज परिस्थितिमा नेतृत्व लिँदै मुलुकलाई निकास दिने पार्टी नेपाली कांग्रेस रहेको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर २ मा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। शाहले नेपाली कांग्रेसबारे समाजमा विभिन्न अफवाह फैलाइएको उल्लेख गर्दै भन्नुभयो,“ती सबै निराधार भ्रममात्रै हुन। आम जनता अझै नेपाली कांग्रेसको पक्षमा छन्।”
संविधानको रक्षा गर्न नेपाली कांग्रेस जुनसुकै समर्पण गर्न तयार रहेको उहाँको भनाइ छ। मुख्यमन्त्रीले नेपाली कांग्रेस वैचारिक पार्टी भएकोले पार्टीभित्र विभिन्न वैचारिक मतान्तरण स्वभाविक रहे पनि कांग्रेस आफ्नो सिद्धान्तप्रति स्पष्ट र प्रतिवद्ध रहेको जिकिर गरे । उनले लोकतन्त्र, गणतन्त्र तथा संविधानप्रति नेपाली कांग्रेस स्पष्ट रहेको धारणा राख्ने
अर्को महाधिवेशन नहुँदासम्म कांग्रेसको नेतृत्व सभापति शेरबहादुर देउवाले नै गर्नु हुने शाहको भनाइ छ। उनले पार्टीभित्र विभिन्न संरचनागत भूमिकामा रहेका उपसभापति, महामन्त्री तथा केन्द्रीय सदस्यलाई मिलाएर लैजाने क्षमता सभापति देउवामा रहेको उल्लेख गरे ।
मुख्यमन्त्री शाहले कांग्रेसले आफ्नो महाधिवेशनका लागि आवश्यक कार्यक्रमहरु तीव्र रुपमा अगाडि बढाइरहेको बताउनुभयो। महाधिवेशनले नै नयाँ नेतृत्व चयन गर्ने मुख्यमन्त्रीको भनाइ थियो।
स्वास्थ्य समस्याका बावजुद वाकरको सहारामा मुख्यमन्त्री कार्यक्रममा पुग्नु भएको थियो। कार्यकर्ताले उहाँको स्वास्थ्य लाभको कामना गरेका थिए।

