हेमन्त मल्ल, धनगढी: पहाडको दुर्गम गाउँबस्तीमा पुसको जाडो केवल मौसम होइन, बालबालिकाका लागि दैनिक सङ्घर्ष हो। बिहान विद्यालय पुग्नु भनेको चिसोसँग लडाइँ लड्नुजस्तै हुन्थ्यो। कुहिरोले ढाकिएको चिसो बाटो हुँदै साना–साना पाइला विद्यालयतर्फ बढ्थे। शरीर ढाक्ने न्यानो लुगा थिएन, खुट्टामा फाटेका जुत्ता थिए, तर मनभित्र पढ्ने सपना अझै जिउँदो थियो। काँपिरहेका हातले झोला समाउँदै अघि बढ्दा आँखामा एउटै प्रश्न घुमिरहन्थ्यो— आज कक्षामा बस्न सक्छु कि सक्दिनँ?
विद्यालय पुगेपछि पनि अवस्था सहज थिएन। कक्षाकोठा न्यानो थिएन। साससँगै निस्कने हावाले चिसोपन झन् बढाउँथ्यो। औँला यति चिसा हुन्थे कि कापीमा अक्षर कोर्नसमेत मुस्किल पर्थ्यो। कतिपय नानीबाबु चिसो सहन नसकी बाटोमै फर्किन्थे, कतिपय त घरबाटै ननिस्कने गर्थे। खाली बेन्चहरूले हरेक दिन कुनै न कुनै सपनाको अधुरोपन सम्झाइरहन्थे।
यो पीडा देखेर हामी—केही साथीहरू—चुप लागेर बस्न सकेनौँ। हामीसँग न पर्याप्त पैसा थियो, न कुनै पहुँचवाला आफन्त। तर हामीसँग इच्छा शक्ति र संवेदना थियो। त्यसैको भरमा हामीले चुपचाप हात फैलायौँ। शब्दभन्दा भावनाले सहयोग माग्यौँ। कतैबाट न्यानो लुगा जुट्यो, कतै सहयोगी दाता भेटिए, कतै नयाँ आशा पलायो।
त्यो दिन विद्यालयको आँगनमा न्यानो लुगा राखिँदा समय केही क्षण रोकिएजस्तो लाग्यो। साना नानीबाबुहरूले हातले लुगा छोए, आँखाबाट आँसु झर्यो। त्यो आँसु दुःखका थिएनन्, स्वीकारिएको पीडा र पाएको ममताका थिए। लुगा लगाउँदा उनीहरूको शरीर मात्र न्यानो भएन, हाम्रो आत्मसम्मान पनि न्यानो भयो।
त्यसपछि परिवर्तन सुरु भयो। चिसो उस्तै छ, तर अब डर छैन। विद्यालयमा उपस्थिती बढ्यो, कक्षाकोठामा हाँसो फर्कियो। पहाड अझै कठोर छ, तर ती साना आँखामा भविष्यको उज्यालो देखिन थालिएको छ। कसैले ठूलो कुरा गरेन, तर दाताहरूको सानो सहयोगले साना बाबुहरूलाई ठूलो सपना देख्ने हिम्मत दिएको छ।
सानो न्यानोपनले केवल शरीर तताएको छैन, यसले भविष्य जोगाएको छ। “खान पुगोस, दिन पुगोस” भन्ने सोचबाट सुरु भएको यो सानो प्रयासले नेपाललाई ठूलो परिवर्तनको आशा देखाएको छ।


