कञ्चनपुर —१६ वर्षको उमेरमा कामको खोजीमा भारत पसेर कतै चौकीदारी त कतै मजदुरी गरे । बैंग्लोर, हरियाणा, दिल्ली हुँदै उत्तराखण्ड र हिमाञ्चलका विभिन्न ठाउँ चहारे ।
भारतमा काम गर्ने बेला नै उनको मनमा एउटा कुरा खेल्थ्यो, ‘सानै भए पनि गाउँमै केही न केही गर्नुपर्छ ।’ करिब ६ वर्ष उनी भारतमा बसे । त्यसपछि घर फर्केर के गर्ने भनेर सोचिरहेका थिए । साथीभाईसँग पनि सरसल्लाह गर्दै थिए ।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका शिवचरण राना एक दिन साथीभाईसँगै झलारी बजार पुगेका थिए । उनले डेरीमा गएर दुध संकलन गर्ने कुरा गरे । डेरी सञ्चालकले पनि दुध ल्याउन भने । त्यसपछि उनले घर फर्केर सहकारी संस्थाबाट ऋण काँढेर साइकल किने । त्यही साइकलमा गाउँबाट दुध संकलन गरेर डेरीमा पुर्याउन थाले ।
१५ वर्षपछि पहिलो दिन दुई लिटर दुध संकलन गरेर डेरीमा पुर्याएका राना अहिले गाउँमा आफ्नै डेरी संचालन गरेर दैनिक १५ सय लिटर दुध संकलन गरिरहेका छन् । ‘पाँच वर्षसम्म साइकलमै दुध संकलन गरे, त्यसपछि सहकारीबाटै ऋण निकालेर मोटरसाइकल किने,’ रानाले भने, ‘त्यतिबेला दिनमा दुई/तीन सय लिटर दुध संकलन हुन्थ्यो, साइकलमै नसकिने भएपछि मोटरसाइकल किने ।’ त्यतिबेला खर्च कटाएर दिनमा ५/७ सय रुपैयाँ बचत हुन्थ्यो । त्यसपछि मोटरसाइकल किनेर बढी दुध संकलन गर्दा हजार/बाह्र सय बचत हुन थाल्यो ।कान्तिपुरबाट


